काठमाडौं । निलम्बन फुकुवापछि नेपाल क्रिकेट संघ (क्यान) को पहिलो कार्यसमिति बैठक आज बस्दैछ । कार्यालय संचालन र आगामी दिनमा कामकारबाही कसरी अगाढि बढाउने लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । संघको कार्यालय मूलपानीमा बैठक मध्यान्ह १२ बजेपछि सुरु हुनेछ ।
आईसीसीबाट सशर्त निलम्बन फुकुवा भएपछि क्यान कार्यसमितिको पहिलो बैठक बस्न लागेको हो । क्यान अध्यक्ष चतुर बहादुर चन्दले बैठकमा आईसीसीलाई धन्यवादसँगै आगामी दिनमा क्यानका गतिविधि कसरी अगाडि बढाउने र कार्यालय संचालन गर्र्र्ने लगायतका विषयमा छलफल गर्ने जानकारी दिए ।
उनका अनुसार पारस खड्काको कप्तानबाट राजीनामा दिएको बारे भने छलफल हुनेछैन । कप्तानबाट राजीनामा दिएको आधिकारिक जानकारी नआएकाले राजीनामाबारे छलफल नहुने उनले बताए । असोज ११ गते आईसीसीकै रोहबरमा भएको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएपछि साढे ३ वर्षदेखि क्यानमाथि लागेको निलम्बन सशर्त फुकुवा भएको थियो ।