काठमाडौं । २०६४ चैत २७ गते साँझ रौतहटको राजपुरमा भएको बम विस्फोटका जीवित घाइतेहरू रौतहट प्रहरीको सम्पर्कमा आएका छन् ।
बम विस्फोटका सबै प्रमाण नष्ट गरेको भनिए पनि केही घाइते अहिले प्रहरीको सम्पर्कमा आएकाले अनुसन्धानमा सहज हुने बताइएको छ । घटना पुष्टिका लागि पर्याप्त प्रमाण प्रहरीले घाइतेहरूबाटै संकलन गरिसकेको जनाइएको छ ।
अनुसन्धान क्रममा एक सातादेखि प्रहरी हिरासतमा रहेका घटनाका आरोपित सांसद महम्मद आफताब आलमले बयानका लागि मुखै नखोले पनि विस्फोटमा परेर घाइते भएका दुईजनाले प्रहरीसमक्ष बयान दिइसकेका छन् ।
घाइतेमध्ये सर्लाहीका एकजनाले साबिती बयान दिएका छन् । स्रोतका अनुसार गाईबस्तु किनबेच गर्ने सर्लाहीका ती व्यक्ति बम विस्फोट भएको दिन घटनास्थलनजिकैको घरमा थिए ।
बम बनाउने काम भइरहेको भन्नेबारे उनलाई कुनै जानकारी थिएन । विस्फोटपछि उनी गम्भीर घाइते भए । बमको छर्राले उनको भुँडीको छाला पुरै उछिट्टिएकाले आन्द्रा बाहिर निस्किएको थियो ।
आफ्नै लुंगीले आन्द्रा बाँधेर तत्काल स्थानीय साहुको घरमा पुगेलगत्तै उनी बेहोस भएका थिए । साहुले उनलाई भारतको मोतीहारीमा तीन महिनासम्म राखेर उपचार गराएका थिए ।
१९ दिनपछि होसमा आएका ती व्यक्तिले प्रहरीलाई घटनाबारे साबिती बयान दिएका हुन् ।
भारतमा उपचार गराएर उनी घर फर्के पनि हालसम्म पूर्ण रूपमा स्वस्थ भइसकेका छैनन् । भारतको मोतीहारीमा उपचार गराउन गएकै अस्पतालमा बम विस्फोटका अन्य केही घाइते पनि पुगेका थिए ।
तिनै घाइतेमध्ये केहीले अहिले प्रहरीलाई सहयोग गरिरहेको बुझिएको छ । सुरक्षाका दृष्टिले बयान दिनेको नाम प्रहरीले सार्वजनिक नगरेको स्रोतको दाबी छ ।
आजको नागरिक दैनिकमा मदन ठाकुरले यो समाचार लेखेका छन् ।