लाखौँ मूल्यको औषधी सडाएर खोलामा फालियो, जनता मेडिकलमा किन्न बाध्य
वीरगंज संजाल
१ कार्तिक २०७६, शुक्रबार १४:२९
५११७
जुम्ला, । समयमै औषधी वितरण नहुँदा म्याद सकिएर फाल्नुपरेको छ । यहाँको कनकासुन्दरी गाँउपालिकाको स्वास्थ्य शाखाले आव २०७५/०७६ को वार्षिक कार्यक्रममा खरीद गरेका लाखौँ मूल्य बराबरको औषधी समयमै गाउँपालिकाभरिका स्वास्थ्य संस्थालाई वितरण नगर्दा खेर गएको हो ।यसरी सडाएर राखिएको औषधी हिजोआज म्याद गएको भन्दै एक खोलामा बेवारिसे अवस्थामा फालेको भेटिएको छ ।
कनकासुन्दरी गाँउपालिकाको कार्यालय नजिकैको खोलामा मेट, ओबिचेक ५००, सिटामोल, ब्रोफीन, सलाईन पानीका निडिल, पाईप, सुईका निडिल, जीवनजल, एन्थर २५०, एभसमे ४, अस्थायी बन्ध्याकरणका सामान, कन्डम, पिल्स, लगायत सयौँ थरी औषधीहरु फालिएको छ । करिब १० वटा बोरामा राखिएका औषधी बेवारिसे खोलाको पानीमै मिल्काइएको छ । अन्य औषधी खोलाको किनारमा जलाएर नस्ट गरेको पनि भेटिएको छ ।गर्त वर्षमा पनि ठूलो परिमाणको औषधी फालिको थियो ।
यता कनकासुन्दरी गाँउपालिकाभरि रहेका स्थास्थ्य संस्थामा औषधीको अभाव हुँदा स्थानीयहरु बिरामी पर्दा पनि गोठिज्यूला, नरकोट, कोटघर, गोच्चौरमा रहेका निजि मेडिकलमा चर्को मूल्य तिरेर औषधी किन्नुपरेको गुनासो गर्छन् । स्वास्थ्य सस्थामा उपचार गर्न जाँदा कहिले अहेव त कहिले अन्य कर्मचारीहरु पनि भेटिँदैनन् । कर्मचारी भेटिए पनि औषधी छैन भन्छन् ।कनकासुन्दरी गाँउपालिकाभित्र ५ वटा स्वास्थ्यचौकी र सामुदायिक स्वास्य संस्थामा हिजोआज औषधीको अभाव रहेको छ ।