चिनियाँ कूटनीतिज्ञलाई अमेरिकाको नयाँ नियम– बाहिर जाँदा विदेश मन्त्रालयलाई जानकारी दिनुपर्ने
वीरगंज संजाल
३० आश्विन २०७६, बिहीबार १०:५१
४५३७
वाशिङ्टन । अमेरिकाले आफ्नो देशमा भएका चिनियाँ कूटनीतिज्ञलाई कुनै गतिविधि गर्नु परेमा अमेरिकी विदेश मन्त्रालयलाई जानकारी गराएर मात्रै गर्न सूचित गरेको छ । चीनका कूटनीतिज्ञले शैक्षिक र अनुसन्धान जस्ता प्रतिस्ठान, विद्यालय र विश्वविद्यालयमा जाँदा र अमेरिकी अधिकारीहरुलाई भेट्दा समेत विदेश मन्त्रालयको अनुमति लिनुपर्ने जनाइएको छ ।
यस्तो नियम लगाइएकोमा प्रतिक्रिया दिँदै चीनले अमेरिकाले अन्तर्राष्ट्रिय नियम उल्लंघन गरेको आरोप लगाएको छ । तर, अमेरिकाले चाहिँ चीनमा रहेका आफ्ना कूटनीतिज्ञले त्यस्तै व्यवहार भोगिरहेको जनाएको छ । यो नयाँ मुभले फेरि दुई देशबीच तनाव सिर्जना हुने अवस्था उत्पन्न भएको छ ।
अमेरिकाले के भन्यो ?
अमेरिकाको नयाँ नियम अमेरिकाका राज्य स्तरका अधिकारीहरुसँगको भेट, अफिसियल बैठक नगर वा गाउँ तहमा गर्दा पनि लागू हुने जनाइएको छ । त्यस्तै शैक्षिक र अनुसन्धान प्रतिष्ठानमा जाँदापनि अनुमति लिनुपर्नेछ ।
अमेरिकी विदेशमन्त्रालयका एक अधिकारीले चीनमा अमेरिकी कुटनीतिज्ञलाई छूट नभएको तर अमेरिकाको खुला वातावरणको लाभ लिँदै चिनियाँ कूटनीतिज्ञ भने जहाँसुकै जाने गरेको जनाएका छन् ।
चीनले के भन्यो ?
चीनको अमेरिकास्थित दूतावासले विहीबार वक्तव्य जारी गरेर अमेरिकाको नयाँ नियम भियना अभिसन्धीको उल्लंंघन भएको जनाएको छ । चीनले बेइजिङ्गमा भएका अमेरिकी कूटनीतिज्ञलाई त्यस्तो नियम नलगाएको समेत दाबी गरेको छ ।
भियना अभिसन्धीले कूटनीतिज्ञलाई खुला रुपमा हिँडडुल गर्न पाउने छुटको व्यवस्था गरेको छ ।