मेयर तेलीले गरे सवारी साधनको व्यापक दुरुपयोग, कारबाईको माग गर्दै गाउँलेद्वारा अख्तियारमा उजुरी
वीरगंज संजाल
२९ आश्विन २०७६, बुधबार १०:५७
३९३९
वीरगंज, । बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्रसाह तेलीले नगरपालिकाको सवारी साधनको व्यापक दुरुपयोग गरेको पाइएको छ ।
मेयर तेलीले वीरगंज–११ तेजारत टोलस्थित छाला उद्योग भाडामा लिई पार्टी प्यालेस निर्माण गरिरहेका र सो काममा विगत एक महीनादेखि नगरपालिकाको लोडर प्रयोग गरेको नगरवासीले गुनासो गरेका छन् ।
त्यसैगरी उपमेयर गायत्री यादवसमेतले नगरपालिकाको स्वामित्वमा रहेको सवारी साधन बिदाको दिन पनि निजी काममा प्रयोग गर्ने गरेको गाउँलेको आरोप छ ।
मेयर नितेन्द्रले नगरपालिकाको स्कार्पियो गाडी र उपमेयर यादवले पिकअप भ्यान सार्वजनिक बिदाको दिन पनि दुरुपयोग गरेको गाउँलेहरूको आरोप लगाएका छन् । नगरपालिकाका मेयर जनमुखी कम र जग्गाको कारोबारी बढी भएकाले उनको ध्यान वीरगंजको पार्टी प्यालेसमा केन्द्रित रहेको गाउँले बताउँछन् ।
नगरपालिकाका बोर्ड बैठकपनि मेयर तेलीको अगुवाईमा बहुदरमाई नगरपालिकाको कार्यालयमा नबसी वीरगंजकै छाला फैक्ट्रीको एउटा कोठामा बस्न थालेको र नगरपालिकाको आर्थिक तथा प्रशासनिक काम पनि वीरगंजबाटै सञ्चालन हुने गरेको गाउँका अगुवाहरूको भनाइ छ ।
नगरपालिकाले गत आर्थिक वर्षमा मात्र ३५ लाखभन्दा बढी इन्धनको बिलको भुक्तानी दिएको गाउँलेको भनाइ छ । यसरी जनताको करबाट सरकारले पठाएको बजेट हिनामिना गरेको मेयर नितेन्द्रसाह तेलीलाई कारबाई गर्नुपर्ने भन्दै अख्तियारसहित अन्य सम्बन्धित निकायमा गाउँलेहरूले उजुरी दिएका छन ।
यस विषयमा नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद चापागाईंले हाल पर्सागढी नगरपालिका मात्र हेर्ने गरेकोले बहुदरमाई नगरपालिकाबारे बोल्न नमिल्ने बताए । तपाईंले गत आवमा बहुदरमाई र पर्सागढी हेर्नुभएको थियो, तर गाडी भाडा र लाखौ इन्धन रकम दुवै ठाउँबाट असुल गर्नु भएको छ भन्ने प्रश्नमा बहुदरमाई नगरपालिकाबाट मात्र गाडी भाडा र इन्धन लिएको पर्सागढीबाट सुविधा नलिएको बताए ।
यसैबीच बहुदरमाई नगरपालिकाका हालका प्रमुख प्रशासकीय अधिकृत प्रकाश महर्जनसँग बुझ्दा–“दशै मनाउन काठमाडौं आएकोले लोडर–एक्साभेटर कुन प्रक्रियाले मेयर साहेबले वीरगंज लगी काममा खटाउनुभएको छ जानकारी छैन”–भनी बताए । उनले फर्केर आएपछि बुझेर बताउने भने ।
मेयर उपमेयरद्वारा बिदाको दिन सरकारी गाडी दुरुपयोग भयो भन्ने सवालमा उनले मेयर–उपमेयरलाई आपूmले रोक्न नमिल्ने बताए । यस विषयमा मेयर नितेन्द्र साह तेलीसँग सोध्दा उनले कार्यपालिका बैठकबाट घण्टाको २२ सयका दरले एक्साभेटर वीरगंज आएर काममा लगाएको बताए । बिदाको दिन गाउँमा पञ्चायतीमा जाँदा कहिलेकँहीं मात्र अफिसको गाडी लिएर जाने गरेको दाबी गरे । उनले ३ नं पुलमा अफिसको गाडी लिएर नगएको, जनताको काममा गएको जवाफ दिए ।