काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आफ्नो पार्टीका सांसद प्रमोदकुमार साहलाई पक्राउ गरिएकोमा आपत्ति जनाएको छ । जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले सांसद साहलाई पक्राउ गरेपछि राजपाले आपत्ति जनाएको हो ।
साह पक्राउको विरोध गर्दै राजपाका महासचिव केशव झाले जनताको सरोकार पूरा नगर्ने र आवाज उठाउनेलाई दण्ड दिन खोज्ने सरकारको चरित्रलाई जनताले कदापि स्वीकार्न नसक्ने बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा जनकपुर विमानस्थलमा बुद्ध एयरको जहाज तीन घण्टा ढिलो भएपछि मिर्गौलाको समस्याबाट पीडित बिरामी छटपटाउन थालेपछि जनप्रतिनिधिको हैसियतले काउन्टरमा सोधपुछ गर्न गएका सांसद साहलाई बुद्ध एयरका प्रतिनिधिले धम्क्याएपछि सामान्य धक्कामुक्का भएको उल्लेख गरेका छन् । त्यस घटनालाई अतिरञ्जित बनाई राज्यको माथिल्लो निकायबाट जबरजस्ती मुद्दा दर्ता गराई राज्यले तानाशाही चरित्र देखाएको आरोप छ ।
उनले जनकपुर विमानस्थलमा जहाजहरु कहिल्यै पनि समयमा अवतरण नहुने भन्दै केही समयअघि नेपालगञ्जमा विमानस्थलमा यात्रुले गरेको विरोधको घटना स्मरण गराएका छन् । महासचिव झाले अधिकारका लागि आवाज उठाउनेलाई दण्डित गर्ने सरकारको चरित्रलाई जनताले स्वीकार नगर्ने पनि चेतावनी दिएका छन् ।