काठमाडौं । लोकसेवा आयोगले उपसचिव र सहसचिवको नयाँ भर्ना आह्वान गर्ने भएको छ । दुई वर्षदेखि अवरुद्ध रहँदै आएको कर्मचारी भर्ना प्रक्रियालाई सुचारु गर्दै आयोगले भोलि (बुधबार) विज्ञापन आह्वान गर्न लागेको हो ।
आयोग स्रोतका अनुसार विभिन्न सेवा समूहअन्तर्गतका झन्डै १ सय सहसचिव र ३ सय उपसचिव पदमा भर्ना आह्वान गर्न लागिएको छ ।
आयोगका प्रवक्ता एवं सहसचिव किशोरजंग कार्कीले मंगलबारसम्म सबै संख्याको टुंगो लगाएर बुधवार विज्ञापन प्रकाशन गरिने तयारी गरिएको जानकारी दिए ।
‘संघमा झन्डै दुई वषपछि भर्ना आ्हवान हुन लागेको छ । सबै सेवा समूहको संख्या निर्धारण गर्ने काम भइरहेको छ । बुधवार कार्यतालिकाअनुसार विज्ञापन आह्वान गरिनेछ,’ कार्कीले राजधानीसँग भने ।
आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको माग आकृति फारामको आधारमा भर्ना प्रक्रिया अगाडि बढाउन लागेको हो । भर्ना आह्वान हुनेमा प्रशासन सेवातर्फको संख्या बढी रहेको आयोगले जनाएको छ ।
यससँगै संघमा रिक्त रहेका ७ हजार विभिन्न पदहरूको कर्मचारी भर्नाको प्रक्रियासमेत सुरु हुने भएको छ । लामो समयदेखि रिक्त पदमा पदपूर्तिको प्रक्रिया सुरु हुन नसक्दा केन्द्रीय सरकारका विभिन्न निकायमा नीतिगत निर्णयदेखि सेवाप्रवाह समेत प्रभावित हुँदै आएको छ ।