काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणसँगै चिनियाँ रेल काठमाडौंसम्म आउने आधार तय भएको छ ।
राष्ट्रपति सीको भ्रमणमा केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सम्झौता भएसँगै नेपालीको रेल सपना साकार हुने संकेत मिलेको छ ।
सीको दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल–चीन सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्ने सहमति भएको छ । गत १५–१६ चैतमा सम्पन्न लगानी सम्मेलनमा सहभागी चिनियाँ अधिकारीले रेल मार्गबारे उच्चस्तरको सहमति जरुरी रहेको बताएका थिए ।
त्यसको करिब ६ महिनाको अवधिमा नेपाल र चीनबीच उच्चस्तरमा सहमति जुटेको छ । नेपाली पक्षले सीको भ्रमणकै बेला रेलको लगानी ढाँचाबारे छलफल गर्ने रणनीति तय गरेको थियो ।
सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गरेपछि पहिलो भएका चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा नेपाली पक्षले केरुङ–काठमाडौं रेल्वेको लगानी ढाँचाबारे छलफल गर्ने तयारी गरेको थियो ।
सो प्रस्तावबमोजिम नै दुई देशबीच केरुङ–काठमाडौं–पोखरा लुम्बिनीसम्म रेलमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने सहमतिले नयाँ उत्साह थपेको परराष्ट्रविद् बताउँछन् ।
आजको राजधानी दैनिकमा टेनिस रोकाले यो समाचार लेखेका छन् ।