काठमाडौं । आगामी १४ मंसिरमा हुने उपनिर्वाचनमा कुल मतदाता ४ लाख ५४ हजार १ सय १४ रहेका छन् । निर्वाचन आयोगले उपनिर्वाचनका लागि सो संंख्या मतदाताका लागि स्वीकृत गरेको हो ।
उपनिर्वाचन हुने ३७ जिल्लाका क्षेत्रबाट मतदाताको सो संख्या रहेको आयोगले जनाएको छ । यसमध्ये महिला मतदाता २ लाख ३३ हजार ४ सय २ जना रहेका छन् । पुरुष मतदाता २ लाख २० हजार ७ सय १० जना र अन्य लिंगका २ जना रहेका छन् ।
प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका सदस्यको रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो । प्रतिनिधिसभा सदस्य एक, प्रदेश सभा सदस्य तीन, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिका वडाध्यक्ष ४३ गरी कुल ५२ पदका लागि निर्वाचन हुने आयोगले जनाएको छ ।
यसै गरी आयोगले उपनिर्वाचन प्रयोजनका लागि मतदान केन्द्र तोकेको छ । मतदान केन्द्र तोक्दा बढीमा १ हजार १ सय मतदाताका लागि एक मतदान केन्द्र रहने गरी तोकिएको आयोगका प्रवक्ता गिरिजा शर्माले जानकारी दिए ।
उपनिर्वाचन हुने ३७ जिल्लाका सम्बन्धित निर्वाचन क्षेत्रमा कुल २ सय ४७ स्थलमा ५ सय ३७ मतदान केन्द्र रहेका छन् । ८ सय वा सोभन्दा बढी मतदाता रहेका मतदान केन्द्र ३ सय ३७ रहेका छन् भने ८ सयभन्दा कम मतदाता रहेका केन्द्र २ सय रहेका छन् ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।