वीरगंज | वीरगंद महानगरपालिकाले निजी–सार्वजनिक साझेदार कार्यक्रम अन्तर्गत सरसफाइको जिम्मा लगाएको पृथ्वीतारा एनके इन्टरनेशनल जेभीले फोहर सङ्कलनबापत शुल्क लिन शुरू गरेको छ । गत साउनदेखि फोहर सङ्कलन कार्य शुरू गरेको महानगरको निजी साझेदारले साउन महीनादेखिको शुल्क एकैसाथ सङ्कलन शुरू गरेको एनके इन्टरनेशनलका केशव नेपालले बताए । अहिले १५ जना कर्मचारी खटाएर फोहर सङ्कलन शुल्क असुली भइरहेको उनले बताए ।
फोहर सङ्कलन गरेबापत वडा नं. १ देखि ३ र १४ देखि १६ सम्मका वडामा मासिक रु ११० प्रतिघर फोहर सङ्कलन शुल्क उठाउने कार्य भइरहेको छ । यसैगरी, वडा नं. ४ देखि १३ सम्म प्रतिघर रु १६० र वडा नं. १७ देखि ३२ सम्म प्रतिघर रु ५५ फोहर सङ्कलन शुल्क लिने गरिएको छ ।
शुल्क अनुसार निजी साझेदार कम्पनीले वडाहरूमा फोहर सङ्कलन गर्दै आएको छ । वडा नं. १ देखि ३ र १४ देखि १६ सम्म साप्ताहिक फोहर सङ्कलन हुने गरेकाले मासिक रु ११० शुल्क राखिएको, वडा नं. ४ देखि १३ सम्म प्रत्येक दिन फोहर सङ्कलन कार्य हुने भएकोले रु १६० कायम गरिएको नेपालले बताए ।
यसैगरी, वडा नं. १७ देखि ३२ सम्म १५ दिनमा फोहर सङ्कलन हुने हुनाले रु ५५ शुल्क राखिएको छ । निजी साझेदार कम्पनीले तरकारी तथा फलपूmल, किराना, वित्तीय संस्था, उद्योग, कलेज, विद्यालय, अस्पताल, पार्टी प्यालेस, होटल, धर्मशाला, वर्कशप, सैलुन, ब्युटिपार्लर, सिनेमा हल सबैको वर्गीकरण गरेर मासिक फोहर सङ्कलन शुल्क कायम गरेको छ । सबैभन्दा कम सहकारीलाई मासिक रु २ सय छ भने सबैभन्दा बढी अस्पताललाई रु १० हजारसम्म शुल्क कायम गरिएको छ ।
वित्तीय संस्थाहरूको विरोध वीरगंजस्थित वित्तीय संस्थाहरूले फोहर सङ्कलनबापत महानगरपालिकाले चर्को शुल्क लिएको भन्दै विरोध जनाएका छन् । उनीहरूले व्यवसाय कर वार्षिक रु ३६ हजार तिर्दै आएकोमा सोहीअनुरूप फोहर सङ्कलन कर कायम गरेकोमा आपत्ति जनाएका हुन् । बैंकर्सहरूको समूहले मेयर, उपमेयर र प्रशासकीय अधिकृतलाई भेटेर फोहर सङ्कलन शुल्क कम गर्न आग्रह गरेको छ । होटल, अस्पतालसरह बैंकहरूसँग फोहर कर लिनु उपयुक्त नहुने उनीहरूको भनाइ छ ।
अन्य महानगरको तुलनामा दररेट कम
महानगरको फोहर सङ्कलनमा निजी साझेदार कम्पनी एनके इन्टरनेशनलका महानिर्देशक केशव नेपालले अन्य महानगरको तुलना वीरगंज महानगरमा फोहर सङ्कलन शुल्क कम रहेको दाबी गरेका छन् । उनले प्रतिपरिवार र सेवा व्यवसायलगायतका संस्थाहरूसँग सङ्कलन गरिने शुल्क चितवन, काठमाडौंको तुलनामा वीरगंजमा कम रहेको बताएका छन् ।