प्रस | लाइसेन्सविना र अगाडि मान्छे यात्री बोकेको आरोपमा सयभन्दा बढी अटो–रिक्शाचालकमाथि जिल्ला ट्राफिक प्रहरी कार्यालयले कारबाई गरेको छ ।
विगत दुई दिनदेखि पर्साको विभिन्न ठाउँमा चेकजाँच गरी लाइसेन्सविना सवारीसाधन सञ्चालन नगर्न र अटो–रिक्शाचालकको छेउमा यात्री नबोक्न ट्राफिक प्रहरीले कडा निर्देशन दिएको छ । ट्राफिक कार्यालय, पर्साका प्रमुख राजकुमार सिंहका अनुसार आइतवार ड्राइपोर्ट रूटमा चल्ने करीब चालीसवटा अटोरिक्शालाई नियन्त्रणमा लिएर केही घण्टा सम्झाइबुझाई चालकछेउको सिट खोल्न लगाएको थियो भने आज जिल्ला प्रहरी कार्यालय अगाडि र बजार क्षेत्रमा अटोरिक्शा चेकजाँच गरी पचासभन्दा बढी अटो रिक्शा नियन्त्रणमा लिई दुई घण्टा प्रशिक्ष्Fण दिएर छाडिएको थियो ।
उनले पहिलोपटक चेतावनीस्वरूप सवारीचालकहरूलाई लाइसेन्स लिन र चालकको छेउमा यात्री नबोक्न निर्देशन गरिएको बताए । उनले ट्राफिक नियम पालना नगरे दोस्रोपटक जरिवाना गरिने बताए । मधेस आन्दोलन र नाकाबन्दीपछि वीरगंजलगायत तराईका विभिन्न क्षेत्रमा अटोरिक्शाको सङ्ख्यामा निकै वृद्धि भएको छ । वीरगंज र पर्सामा गरी करीब २५ सयभन्दा बढी अटोरिक्शा सञ्चालनमा छन् । वीरगंजको साँघुरो सडकमा अटोरिक्शाको कारण ट्राफिक व्यवस्थापन प्रभावित भएको वीरगंजवासी बताउँछन् ।
घण्टाघरबाट पर्सामा ६ वटा रूटमा अटोरिक्शा सञ्चालनमा छ । घण्टाघर, माईस्थान हुँदै शङ्काराचार्य गेट, घण्टाघर –बसपार्क–सेकेन्ड बाइपास हुँदै शङ्कराचार्य गेट, घण्टाघर–परवानीपुर, घण्टाघर–ड्राइपोर्ट–पोखरिया, गण्डक नहरको बाटो हुँदै जानकीटोल, जीतपुर–रङ्गपुरलगायत रूटमा अटोरिक्शाले गर्दा ग्रामीण भेगको जनजीवन यातायातको मामिलामा सहज पनि बनाएको छ । तर अटो रिक्शाचालकले मनपरी भाडा असुल्ने गर्दा यात्रीहरू ठगीमा पर्ने गरेको गुनासो गरेका छन् ।