काठमाडौं । २०६४ चैत २७ । दिनको २ बजे नेपाली कांग्रेससँग सम्बद्ध स्थानीय नेताहरु श्रीनारायण सिंहको घरमा पुग्छन् । ऐतिहासिक संविधानसभाको चुनावको अघिल्लो दिन थियो– त्यो दिन । उनीहरुले सिंहका छोरा त्रिलोकप्रताप सिहलाई ‘नेताजीले बोलाउनुभएको छ’ भन्दै चुनावको प्रचारप्रसारमा सलग्न हुन भन्छन् । ती नेताजी अरु कोही नभई काग्रेस नेता मोहम्मद आफताव आलम हुन् ।
श्रीनारायणका लागि, जो अहिले ७० वर्ष नाघिसकेका छन्, आफ्नो २२ वर्षीय छोरालाई चुनावी अभियानमा संलग्न गराउने निर्णय गर्न सजिलो थिएन । उनी अन्योलमा थिए । चुनावका लागि केही घण्टा मात्र बाँकी थियो । स्थानीय कांग्रेस नेतृत्व मतदातालाई आकर्षित गर्न भरमग्दुर प्रयासमा थियो ।
सुरुमा उनले छोरो त्रिलोकलाई चुनावमा संलग्न गराउन आनाकानी गरे पनि कांग्रेस नेता आलमकै जोडबलमा अन्ततः चुनाव प्रचारप्रसार टिममा सहभागी हुने अनुमति दिए । यसरी आलमकै दबाबमा गाउँमा पिन्टु भनेर चिनिने त्रिलोकप्रताप चुनावी प्रचारप्रसारमा सहभागी भए ।
त्रिलोकका पिता श्रीनारायणलाई धेरैपछि मात्र थाहा भयो कि उनका छोरालाई चुनावी बुथहरु र प्रतिपक्षी उम्मेदवारका घरमा बम बिस्फोट गर्ने अभिप्रायले बम बोक्ने कामका लागि प्रचासप्रसार टिममा समावेश गराइएको रहेछ । बम बिस्फोट गराएर मतदातामा डर पैदा गर्ने र बुथ कब्जा गर्ने नियत आलमको थियो ।
बम बनाउने काम स्थानीय शेख इन्डियासको गोठमा गरिएको थियो । पिन्टुसहित अर्का युवा ओसी अख्तरलाई यो काममा संलग्न गराइएको थियो । त्यो टिममा सहभागी भएपछि त्रिलोकसँगै अख्तर पनि कहिल्यै घर फर्केनन् ।
त्यस दिन साँझ ढिलोसम्म छोराहरु घर नफर्केपछि उनीहरुको सोधखोज भएको थियो । धेरै प्रयास गरिए पनि कुनै जानकारी प्राप्त हुन सकेन । त्रिलोकका परिवारको चिन्ता त्यतिबेला झन् बढ्यो जतिबेला गाउँलेले त्यही रात बम बिस्फोटको ठूलो आवाज सुनेको बताए । स्थानीयका अनुसार त्यो बिस्फोट निकै शक्तिशाली थियो ।
बिस्फोटको सूचना पाएपछि छिमेकी लिएर राजपुर फरदवा पुगेका थिए श्रीनारायण । घटनास्थल गाउँबाट दुई कोेष टाढा थियो । उनीहरु घटनास्थलनजिक पुगे । त्यतिबेलाका प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने (जो पछि टीकापुर झडपमा मारिए) लगायत सशस्त्र प्रहरीका जवान कुनै पनि अपरिचितलाई उक्त गाउँ पस्न नदिने उद्देश्यले तैनाथ थिए । उक्त गाउँमा रहेको इँटाभट्टामा बिस्फोटमा मारिएका र घाइतेलाई जलाइएको आशंका थियो ।
श्रीनारायण र उनका छिमेकीलाई उक्त गाउँमा जान दिइएन तर बम बनाउने क्रममा भएको विस्फोटमा त्रिलोक र अन्य एक नेपाली तथा २० जना भारतीयको मृत्यु भएको जानकारी दिइयो । चुरोटको आगोले सल्किएर बनाउन लागेका बम बिस्फोट भएको आशंका छ । त्यतिबेला उनीहरु बम बनाउँदै चुनावी बुथहरु र प्रतिपक्षी उम्मेदवारका गढहरुमा कसरी पड्काउने भन्ने विषयमा छलफलमा पनि गर्दै थिए ।
आजको नागरिक दैनिकमा भद्र शर्माको बाइलाइनमा यो समाचार प्रकाशित छ ।