जापानमा टाइफून : १८ जनाको मृत्यु, उद्धारका लागि २७ हजार सेना परिचालन
वीरगंज संजाल
२६ आश्विन २०७६, आईतवार १५:२७
३१६१
टोकियो । जापानमा आएको भयानक तुफानमा परी कम्तिमा पनि १८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । शनिबारबाट सुरू भएको चक्रवाती तुफान हेगीबीस उत्तरी क्षेत्रतर्फ सरेको र बाढी आएको जनाइएको छ ।
जापानी सञ्चारमाध्यम एनएचकेका अनुसार १३ जना अझै वेपत्ता छन् । उक्त तुफानबाट प्रभावितलाई उद्धार र राहतका लागि २७ हजार सेना र अन्य हेलिकोप्टर क्रियू परिचालन गरिएको जनाइएको छ ।
प्रधानमन्त्री सिन्जो आबेले सरकारले जतिसक्दो उद्धार र राहतको काम अघि बढाएको र आवश्यक परे अझै सेना थप गर्न सकिने बताएका छन् । नागनो केन्द्रमा रहेको बुलेट ट्रेन आधा डुबेका छन् । ती ट्रेनहरुलाई हेलिकोप्टरले माथि तान्ने प्रयास गरिरहेका छन् ।
तुफानका कारणले ठूलो क्षति भएको जनाइएको छ । तुफानसँगै आएको वर्षा, बाढी र पहिरोका कारण अधिकांश मानिसले ज्यान गुमाएका छन् । उद्धार गर्ने हेलिकोप्टरबाट खसेर एक ७० वर्षीया महिलाको मृत्यु भएको छ ।
हाकोन सहरको माउण्ट फुजी क्षेत्रमा पछिल्लो ४८ घण्टामा अहिलेसम्मकै बढी वर्षा भएको छ । तुफानका कारण रेल सेवा बन्द गरिएका छन् । त्यसैगरी हजारभन्दा बढी विमान विमानस्थलमै रोकेर राखिएको छ । हजारौं घरमा बिजुली नहुँदा अन्धकार छाएको छ ।
आँधीका कारण जापानमा जारी रग्बी विश्वकपका केही खेलहरुसमेत रद्द गरिएका छन् । तर, जापान र स्कटल्याण्डबीच हुने खेल भने आइतबार हुने भएको छ ।