काठमाडौं । नेपाल विश्वको अग्लो हिमाल सगरमाथा र अन्य थुपै्र सुन्दर उच्च शिखरका कारण विश्वसामु चिनिएको देश हो । वर्षेनी हजारौं पर्यटक सुन्दर हिमाल र सूर्यको पहिलो किरणले ती सुन्दर हिमालमा पैदा गर्ने मनमोहक दृश्य आफ्नो आँखासँगै क्यामेरामा पनि कैद गर्न आँउछन् ।
एक विदेशी पर्यटकले आफ्नो क्यामेरामा यस्ता थुप्रै दृष्य कैद गरेका छन् । तिनै सुन्दर हिमालको टाकुराहरु, काठमाडौं र यसका आसपासका बस्तिको रहनसहन र सुन्दर पहाड तथा तराईका फोटोहरु अहिले ललितपुरको पाटन म्युजियममा देख्न सकिन्छ ।
फ्रान्सेली फोटोग्राफर मिशेल मि ले १५ वर्षको नेपाल बसाईको क्रममा आफ्नो क्यामेरामा कैद गरेका उत्कृष्ट १०८ फोटोहरु प्रदर्शनीमा राखेका छन् । ‘१५ इयर्स इन नेपाल’ नाम दिइएको उतm प्रदर्शनी अहिले पनि जारी नै छ । प्रकृतिप्रेमी मि नेपालमा विश्वकै सुन्दर हिमालहरु भएको बताउँछन् । तर त्यसको उचित संरक्षण हुन भने अत्यन्तै जरुरी भएको उनको बुझाइ छ ।
२७ सेप्टेम्बरबाट एक महिनासम्म उक्त प्रदर्शनी चल्नेछ ।
उनले १५ वर्षको अवधिमा ३० हजार फोटोहरु खिचेका छन् । पहिलो पटक नेपाल आँउदा उनले सोचेका थिएनन्, उनको क्यामेरामा नेपालको यति धेरै फोटोहरु कैद होला भनेर । न त उनले ती फोटोहरु प्रदर्शनी नै गर्ने सोचेका थिए ।
नेपालको सुन्दर ठाउँहरु भ्रमण गर्नेक्रममा उनले ती दृश्यहरु आफ्नो आँखामा मात्रै नभई क्यामेरामा पनि कैद नगरी बस्नै सकेनन् । यहि कारण उनी एकपटक मात्रै होइन, १५ वर्षको अवधिमा कैयौं पटक नेपाल आउनेजाने क्रम जारी नै रह्यो ।
मिशेल मि नेपालको सुन्दर फोटोहरु प्रदर्शनीमार्फत् नेपाली लगायत विदेशी पर्यटकलाई पनि देखाउन पाउँदा खुशी भएको बताउँछन् । “दिनमै २, ३ सय नेपाली तथा विदेशी अवलोकनकर्ताहरु आइराख्नु भएको छ, जुन अत्यन्तै राम्रो कुरा हो र म निकै खुशी छु,” उनले भने ।
यो भन्दा पनि विश्व सम्पदा सूचीमा सूचीकृत पाटन म्युजियममा फोटो प्रदर्शनी गर्र्ने मौका पाएकोमा उनी थप हर्षित छन् । “नेपाल भौगोलिक र कलात्मक दुबै पक्षबाट विविधताले भरिएको देश हो । तपाईलाई थाहा नै छ यहाँ १२९ विभिन्न जातिय समूहरु छन् । यी सबै कुराहरुलाई केहि दिनको नेपाल बसाईमा मात्रै कैद गर्न पक्कै सकिदैन् थियो । त्यसैले म केही महिना फ्रान्स र केही महिना नेपाल बस्दै यी फोटोहरु खिचेको हुँ ” उनले भने ।
उनले फोटो खिच्ने क्रममा भन्दा पनि फोटो प्रदर्शनीको समयमा गाह्रो महसुस गरे । भन्छन्, “नेपालीहरु एकमदमै सहयोगी भएकाले आफ्नै देशमा छु जस्तो लागेको थियो । तर फोटो प्रदर्शनीको लागि फोटो छान्नुपर्दा भने मलाई निकै गाह्रो भयो । किनभने ३० हजार फोटोहरु प्रदर्शनीमा राख्नु सम्भव थिएन । र ती बाट मात्रै १०८ फोटोहरु छान्न मलाई ३, ४ महिना लाग्यो ।”
विदेशी भन्नेबित्तिकै नेपालमा पैसावाला हुन्छन् भन्ने सोच भएको उनले सुनाए । “यस्तो फोटो प्रदर्शनी गर्दा सरकार तथा पर्यटन बोर्डको सहयोग हुनु पर्ने हो । तर यो मेरो फोटो प्रदर्शनीमा यी दुबै पक्षबाट कुनै पनि सहयोग नपाएकोले केही दुःख लागेको छ,” उनले दुखेसो पोखे ।
उनले नेपाली हिमालहरुसँग यति नजिकको सम्बन्ध बनाइसकेका छन्, जसले गर्दा उनलाई नेपालको कुन ठाउँमा कुन हिमाल छ हरेकको नामबारे उनी ज्ञात छन् । प्रदर्शनीमा राखिएको फोटोहरुमा यहाँको संस्कृति, मठमन्दिरहरुको सुन्दर संरचना, हिमालयका उँचा शिखर, महाभारत पर्वत,नदीनाला, झरीपर्ने हरिया घना जङ्गल, यहाँको संस्कृति र परम्परा अगाडी बढाइरहेका विभिन्न जातीका दिनचर्यालाई कैद गरेका छन् ।
उनका अनुसार नेपाली हिमाल हेर्न अहिले विदेशी सँगै आन्तरिक पर्यटकहरु पनि बढिरहेका छन् । उनको अनुभवका अनुसार नेपालमा विदेशी पर्यटकहरु आउनेक्रम बढिरहेको छ । यो संख्या अझै बढाउन नेपालले आफूसँग भएको सुन्दर पक्षलाई जर्गेना गरिरहनु निकै जरुरी रहेको उनी बताउँछन् ।
थुपै हिमाल आरोहणको क्रममा उनले भरियाहरुको कमी र भएकालाई पनि उचित पारिश्रमिकको कमी भएको महसुस गरे । उनले प्रदर्शनीमा राखेका फोटोहरुलाई समेटेर एक किताब पनि तयार गरेका छन् । जसमा नेपाल र ती फोटोहरुको बारेमा अझै विस्तृत जानकारीहरु छन् ।