बिर्खे तल ओर्ल्यो र गेट खोल्दै स्वागत गर्यो । ती युवायुवतीहरु १५ देखि २० बर्ष उमेर समुहका देखिन्थे । एउटा युवकले सोध्यो “दाइ यहाँ प्लक कहाँ छ?” बिर्खेले प्लक भएको ठाउँतिर संकेत गर्यो , युवकले प्लकमा तार जोड्यो र चर्को ध्वनिमा डेग बजायो। डेगमा हिन्दी गित बज्दै थियो “साेनी दे नखरे ” यस्तै यस्तै ,अनि ती युवायुवतीहरु भड्किलो पारामा नाच्न थाले ।
गाउँमा हुर्के बढेकाे बिर्खे पहिलो पटक सहरमा रोजगारिको सिलसिलामा बसेको थियोे । उसले पञ्चेबाजा र मादलको तालमा मात्र नाच्न जानेको थियो । बिर्खेले ती युवायुवतीलाई लक्षित गर्दै भन्यो “देउसी खेल्न आउनु भा होइन खै त फलाकेर नाचेको ?” यतिकैमा एक युवकले जवाफ दियो “ह्या आजकलको जमानामा पनि को फलाकेर बस्छ, हामीलाई आउदैन ।” बिर्खेले फेरि भन्यो “उसो भए नेपाली गितमा त नाच्नुस।” फेरि अर्को युवकले उत्तर दियो “ह्या नेपाली छैन , नाच्ने जस्तो नेपाली गित पनि त हुनुपर्यो नि, खुरुक्क पैसा दिनुस न हामी गैहाल्छम, हामिलाई धेरै ठाउँ पुग्नु छ।”
बिर्खेले सम्झ्यो पोहोर साल गाउँमा गाउँका सबै दाजुभाइ दिदीबहिनी मिलेर देउसिरे गित गाउँदै मादलको तालमा नाच्दै हिडेको, घरबेटीलाई आशिर्वाद दिदै बिदा भएको । उसले ती युवायुवतीसँग धेरै बहस गर्नुभन्दा बिदा गरेर पठाउन नै निको ठान्यो ।बिर्खेले परम्परा अनुसार सुपोमा चामल , पैसा ,फलफूल र बलेको दियो राखेर ती युवायुवतीको अगाडि राखिदियो।ती युवायुवती खुशिहुदै चामल ,पैसा र फलफूल झोलामा राख्दै बिदा भए ।
बिर्खे गेट लगाएर कोठामा आएर सोच्यो हाम्रो परम्परा , हाम्रो सँस्कृती, हाम्रो संस्कार लोप हुने खतरा भैसकेछ , न यो चाडपर्वमा यो यो कुरा गर्नुपर्छ भन्ने नीति नै छ न त परम्परा विरुद्ध जानेलाई कारबाही गर्ने सँयन्त्र नै ।कस्ले जगेर्ना गर्ने हाम्रो मौलिक संस्कृति ? बिर्खे आफैमा अनुत्तरित भयो र निराश हुँदै सुत्यो।