उच्चस्तरीय भ्रमणलाई मौसमको पनि साथ, शनिबार र आइतबार मौसम सफा रहने
वीरगंज संजाल
२३ आश्विन २०७६, बिहीबार ११:४२
२४२१
काठमाडौं । छिमेकी चीनका राष्ट्रपति सी जिनपिङ नेपाल आउँदा मौसमले पनि साथ दिने देखिएको छ । सी यही शनिबार दुई दिने भ्रमणका लागि नेपाल आउँदैछन् । झण्डै २३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको भ्रमण हुन लागेको हो । मौसमविद् प्रतिभा मानन्धरले बाह्रखरीसँगको कुराकानीमा बिहीबार बिहान भनिन्, ‘‘उच्चस्तरीय भ्रमणको बेलामा मौसम खराब हुँदैन । सामान्यतया सफा नै रहन्छ ।’’
जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम बंगालको आसपास रहेको न्यून चापिय क्षेत्रका कारण पूर्वी र मध्य भूभागमा आंशिक देखि सामान्य बदली भई पूर्वी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।आज भने देशको पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र मध्य तथा पूर्वी पहाडमा आंशिक बदली र तराईका भूभागमा सामान्यतया सफा रहने जनाइएको छ । पूर्वका थोरै स्थानहरुका साथै मध्य र पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति देशको मध्य तथा पूर्वी भूभागमा आंशिक देखि सामान्य बदलीका साथै पश्चिमी भूभागमा आंशिक बदली रहने जनाइएको छ । यस्तै शुक्रबार र शनिबार पनि मौसम पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । मनसुन पनि अब चाँडै बाहिरिने मौसमविद् मानन्धरले जनाइन् । मनसुन सेप्टेम्बर २३ देखि नै बाहिरिनुपर्नेमा यसपालि केही लम्बिएको हो ।