सीको भ्रमणलाई लिएर भारतमा पनि सुरक्षा कडा, भव्य स्वागतको तयारी
वीरगंज संजाल
२३ आश्विन २०७६, बिहीबार ११:३८
२४६७
नयाँ दिल्ली । चीनका राष्ट्रपति सी जिनपिङले भोलि शुक्रबारदेखि गर्न लागेको भारतको भ्रमणलाई लिएर त्यहाँको सुरक्षा व्यवस्था पनि निकै कडा पारिएको छ । उनी भारतको तमिलनाडुको चेन्नई भ्रमण गर्दैछन् । सयौं विद्यार्थी र नृत्यंगनाहरुले सांस्कृतिक कार्यक्रम गर्नको लागि अहिले रिहर्सल गरिरहेको पाइएको छ । मन्दिर र अन्य मोनुमेन्टहरुमा पर्यटकलाई जान दिइएको छैन ।
कतिपय मन्दिर अक्टोबर १ देखि नै बन्द गरिएका छन् । दुई हप्ताका लागि स्थानीय सबै खालका व्यवसायहरु बन्द गरिएका छन् ।मामलापुरमममा नगरपालिकाका कर्मचारी शहरका संरचनाहरुलाई सजाउन लागिपरेका छन् । शहरको अनुहार बदल्ने प्रयास गरिएको छ ।
बे अफ बंगालको छेउछाउमा सुरक्षा व्यवस्था कडा गरिएको छ । राष्ट्रपति सी र प्रधानमन्त्री नरेन्द्र मोदीबीच स्थानीय बीचसाइड रिसोर्टमा दुईपक्षीय अनौपचारिक वार्ता हुने कार्यक्रम रहेको छ ।तमिलनाडु प्रहरीले ८ हजार प्रहरीलाई सीको सुरक्षाका लागि खटाएको छ । स्थानीय आइटिसी ग्रान्ड चोला होटलमा सुरक्षा व्यवस्था कडा पारिएको टाइम्स अफ इण्डियाले जनाएको छ । जहाँ चिनियाँ प्रतिनिधिमण्डल बस्नेछ ।
चीनका राष्ट्रपतिलाई स्वागतका लागि फ्लेक्स तथा ब्यानर राख्नका लागि मद्रास उच्च न्यायालयले स्थानीय सरकारलाई गएको विहीबार अनुमति दिएको थियो । तमिलनाडु सरकारले कुल ४१ ब्यानर शहरका विभिन्न भागमा लगाउने तयारी गरेको छ ।