बारा । नेपालका अधिकांश अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुन नसके पनि आँखाको उपचारमा भने विश्वसनीयता बढ्दै गएको छ ।
बारा, परवानीपुरको केडिया आँखा अस्पतालमा उपचार गराउन आउने दर्जनौं बिरामीमध्ये सबैजसो नै भारतीय हुने गरेका छन् ।
भारतको बिहार र उत्तर प्रदेशका दर्जनौं व्यक्तिहरु आँखाको उपचारका लागि बाराको केडिया आँखा अस्पतालमा आउने गरेका छन् ।
यो अस्पतालले नेपालभन्दा भारतका सेवाग्राहीको विश्वास जित्न सफल भएको छ ।
दैनिकजसो भारतबाट बस ‘रिजर्भ’ गरेर समूहमा आँखासम्बन्धी उपचार गर्न आउने गरेका छन् ।
नेपालमा आँखाको उपचार राम्रो हुन्छ भन्ने सुनेर यहाँ उपचार गर्न आएको बिहारबाट उपचारका लागि आएका अजय प्रसाद बताउँछन् ।
उपचार सस्तो हुने भएकाले पहिले–पहिले आर्थिकरुपमा कमजोर व्यक्तिहरु आउने गरे पनि पछिल्ला दिनहरुमा भने गुणस्तरीय सेवा पाइने भन्दै सबैजसो आउन थालेका छन् ।
सरकारको हस्तक्षेप नभएका कारण पनि अस्पतालको सेवा भरपर्दो र विश्वासयोग्य भएको आँखा विशेषज्ञ डाक्टरको बुझाइ छ ।
विगत पाँच वर्षदेखि सरकारले नेपाल नेत्र ज्योति संघलाई वार्षिक पाँच करोड रुपैयाँको सहयोग गर्दै आएको छ ।
केडिया अस्पतालमा आँखाको उपचार गुणस्तरीय हुने भएकाले आएको सेवाग्राहीको भनाइ छ ।
वार्षिक एक लाख ५० हजारको हाराहारीमा बिमारीले सेवा लिने गरेको र तीमध्ये १५ देखि २० हजारजनाको आँखाको शल्यक्रिया हुने गरेको अस्पतालले जनाएको छ । तर, जिल्लाका बिमारीहरुको भने यहाँ नगन्य उपस्थिति रहने गरेको छ ।
अस्पतालमा झन्डै १२ सय रुपैयाँमै आँखाको शल्यक्रिया हुन्छ । सस्तो र गुणस्तरीय सेवा भएकाले भारतीय बिरामीको घुइँचो लाग्ने गरेको अस्पतालका प्रशासन प्रमुख प्रकाश बर्माको भनाइ छ ।
वि.सं. २०३१ सालमा स्थापना भएको यो अस्पतालले एकै दिन २६५ जना बिमारीको शल्यक्रिया गरी विश्व ‘रेकर्ड’समेत कायम गर्न सफल भएको छ ।