निर्माण शुरु गरिएको वर्षाैं बितिसक्दा पनि बनेन मोटर-पुल
वीरगंज संजाल
२२ आश्विन २०७६, बुधबार १६:११
४१४७
डाेटी । तोकिएको समयमा पुल नबन्दा शिखर नगरपालिका र आदर्श गाउँपालिकाका बासिन्दाले निकै सास्ती खेप्नुपरेको छ । पुल नबन्दा त्यहाँका बासिन्दालाई सामान्य कामका लागि पनि घण्टौंँ लामो यात्रा गर्नुपर्छ ।
निर्माण शुरु गरिएको वर्षाैं बितिसक्दा पनि सातनाली सडकको मोटर चल्ने पक्की पुल अझै बन्न सकेको छैन । सातनाली–मेल्लेक–बझाङ्ग सडकलाई केआइसिंह राजमार्गसँग जोड्न शिखरनगरपालिका–१० बानीडुग्रीसैनको सेती नदीमाथि पुल निर्माण गर्न विसं २०७१ असार २० गते सम्झौता भएको थियो । उक्त सम्झौतानुसार २०७४ असार २० गतेभित्र पुलनिर्माण भइसक्नुपर्ने भए पनि निर्माण १० प्रतिशत पनि भएको छैन ।
सुस्त गतिमा हुँदैआएको निर्माण पूर्ण रुपमा रोकिएको छ । मूल्य अभिवृद्धिकरसहित रु २६ करोड २० लाखको लागतमा निर्माण हुने करीव ४०० मिटर लामो उक्त आरसिसीपुलका लागि डिभिजन सडक कार्यालय कुलपाते डोटीले पुष्प–राजेन्द्र जेभी निर्माण कम्पनीसँगसम्झौता भएको हो ।
पुल निर्माण हुने समयावधि समाप्त भएर पन्ध्र महिना बितिसक्दा पनि पुलका दायाँबायाँ पिल्लर उठाइएको छैन । उक्त पुल समयमै नबन्दा शिखर नगरपालिका वडा नं ११ सडक सञ्जालमा जोडिन सकेको छैन । नदीमा पुल नभएकै कारण २०४९ सालदेखि निर्माण शुरु भएको सातनाली–मेल्लेक–बझाङ्ग सडक अलपत्र परेको छ । पुल नभएरै उक्त सडकमा यातायातका साधन सञ्चालन हुन नसकेको स्थानीयवासी रामबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “पुल नै बनेको छैन कहाँबाट लगेर गाडी चलाउनू ? काटेको सडकमा गाडी नचल्दा दिनहुँ बिग्रिन र भत्किन थालेको छ ।”
सम्बन्धित डिभिजन सडक कार्यालय कुल्पोतेका इञ्जिनीयर वसन्तकुमार गायीले पुलको जगमै समस्या भएको जानकारी दिनुभयो । उहाँका अनुसार पिल्लरको जगमा चट्टान भेटिएपछि डिएमसी मेशिनले काम नगरेको र बोर पाइलिङ्ग मेसिन ल्याउनुपर्ने भएका कारण ढिलाइ भएको हो । डिभिजन सडक कार्यालय डोटीले तत्काल काम शुरु गर्न ठेकेदार कम्पनीलाई पत्राचार गरिसकेको इञ्जिनीयर गायीले बताउनुभयो । उहाँले भन्नुभयो, “तत्काल काम शुरु गर्न चेतावनीसहित हामीले निर्माता कम्पनीलाई पत्राचार गरिसकेका छौंँ । तोकिएको अवधिमा काम शुरु भएन भने आर्थिक कारवाही हुन्छ ।”
लामो समयदेखि रोकिएको काम आफू साइट इञ्चार्ज भएपछि शुरु गराएपनि निर्माता कम्पनीले लापरवाही गरिरहेकाले काम ढिलो भएको इञ्जिनीयर गायीको भनाइ छ । निर्माता कम्पनी पुष्प राजेन्द्र जेभीका इञ्जिनीयर राजेन्द्र साउदले डिएमसी मेशिन आइसकेकाले अब छिट्टै काम शुरु गरिने बताउनुभयो ।