सहरको दसैँ भने बडो अचम्मको हुन्छ । लामो बिदा दिइने भएकाले सहरमा बसेका मान्छेलाई दसैँ गाउँ फर्काउने अवसर बन्छ । अनि अर्को कुराचाहिँ सहरमा बाह्रै महिना ‘खाने, पिउने, लगाउने’ काम हुने भएकाले दसैँ खास नयाँ लाग्दैन । त्यसैले दसैँमा सहरका मान्छे घुम्न जान्छन्, जुवाका अखडा खडा गर्छन् । सहरमा दसैँलाई पूरै नशा लागेको हुन्छ । त्यो नशाबारे भनिरहनुपर्दैन ।
मुलुक धर्मनिरपेक्ष भए पनि दसैँलाई राष्ट्रिय चाडका रूपमा मान्यता दिइएको छ । दसैँ बिदा र सुविधाले त्यसको पक्षपोषण गरेकै छ । धर्मनिरपेक्ष मुलुकका सबै धर्मावलम्बीले दसैँ मनाउँदैनन् । सबैले नमनाउने भएकाले दसैँ राष्ट्रिय चाड होइन भन्नेको आवाज नसुनिएको होइन ।
धनी हिन्दु धर्मावलम्बीलाई दसैँ खासा, गरिब धर्मावलम्बीलाई दशा र जनजातिलाई दुर्दशाको चाड हो । डा. भट्टचन दुःखेसो पोख्छन्, ‘हिन्दु धर्मावलम्बीको चाड दसैँ अन्य धर्मावलम्बली पनि जबरजस्ती मानिदिनुपर्ने तर हिन्दु धर्मावलम्बीले अन्य धर्मावलम्बीको चाड मान्नु नपर्ने ? यो त अन्याय होइन र ?’