काठमाडौं । नेपालमा केही वर्ष अघिसम्म फ्याट्ट फुट्ट सुनिने एसिड अट्याक अर्थात तेजाब छ्याप्ने अपराध अहिले धेरै सुनिन थालेको छ । प्रेम तथा विवाह अस्वीकार वा अन्य रिसको कारण अहिलेसम्म करीब २ दर्जन किशोरी, महिलाहरु यसको सिकार बनिसकेका छन् ।
हेटौडाँकी विन्दवासिनी कंशाकार, काठमाडौंकी संगिता मगर र सीमा बस्नेत, काठमाडौैंकै जेनी खड्का, रौतहटकी सम्झना कुमारी र सुस्मिता कुमारी, नवलपुरकी बसन्ती परियारदेखि केही दिन अघि मात्रै तेजाब प्रहारको सिकार बनेकी मुस्कान खातुनसम्म आइपुग्दा एसिड अट्याकमा पर्नेको संख्या १६ पुगेको छ । २ जनाले भने ज्यान गुमाइसकेका छन् । अपराधिले सजिलै धेरै पीडा दिनसक्ने अपराध भएकाले एसिड अट्याक घटनाको ग्राफ बढिरहेको छ । यसको अर्को कारण भनेको एसिड सहजै खरीद गर्न पाउनु पनि हो ।
हामीले काठमाडौंका केही पसलमा यसको परीक्षण पनि गरेका छौं । हाम्रा सहकर्मीहरुले काठमाडौंका विभिन्न पसलमा पुगेर एसिड माग्दा सहजै प्राप्त गरे । यसरी सहजै खरीद गरेको एसिड अपराधिक मानसिकता भएका व्यक्तिले केही व्यक्तिको जीवनलाई अँध्यारो बनाउन प्रयोग गर्ने गरेका छन् । एसिड अट्याकलाई रोकथाम गर्न एसिड विक्री वितरणलाई व्यवस्थित गर्नुपर्ने आवाज मुख्य रुपमा उठेको छ ।
एसिड अट्याक गर्नेलाई कारबाही अझै कम भएको एसिड अट्याक पीडितहरुको गुनासो छ । अधिकांश घटनाको दोषीलाई प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्धा चलाउने गरेको छ । एसिड अट्याकका घटनामा अपराधिलाई पाँचदेखि आठ बर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।