दशैंमा बिरामीको घाउमा मल्हम लगाउन ब्यस्त छन् स्वास्थ्यकर्मी
वीरगंज संजाल
२१ आश्विन २०७६, मंगलवार २१:०६
२७४३
रुपन्देही । दशैं वर्षमा एकपटक आउने नेपालीको महान् चाड हो । हरेक नेपाली परिवार र आफन्तबीच हर्षाेल्लासका साथ दशैं मनाउन चाहन्छन् । विदेशमा रहेका पनि दशैं मनाउन नेपाल फर्कन्छन् । तर, सबैको भाग्यमा यो हुँदैन । अझ, पत्रकार, प्रहरी, चिकित्सक र नर्सले भने कमै मात्रामा दशैं परिवारसँग बिताउने गर्दछन् । तर, पनि ‘सेवा नै धर्म हो’ भन्ने मुलभावका साथ दशैंमा पनि उनीहरु निरन्तर आफ्नो कर्तव्य पूरा गरिरहन्छन् ।
दशैंमा रमाइलो गरौं भन्ने सबैको चाहना नै हुन्छ । तर, पत्रकार, प्रहरी, स्वास्थ्यकर्मी पेसा यस्तो हो, कि जुन व्यक्तिगत स्वार्थ भन्दा पनि जागिर र जिम्मेवारीको बढी ख्याल गर्नुपर्छ । सायद त्यसैले होला मनले घर र परिवारसँगको मिलन सम्झिए पनि आफूलाई सम्हाल्दै धेरै आफ्नो धर्म निभाइरहेका छन् ।
अझ, स्वास्थ्यकर्मीहरु त दशैंमा परिवार भन्दा बाहिर रहेपनि आफ्ना कारणले धेरै परिवारको अनुहारमा खुसी देख्न पाउँदा नै सन्तोष मिल्ने गरेको भन्दै आफैलाई सान्त्वना पनि दिने गर्दछन् । मन दुःखी बनाएर घरबाट हिँडे पनि अस्पताल आएपछि उमंग थपिने चिकित्सक आफै स्वीकार्छन् ।
बिरामीका बीचमा बसेर उनीहरुको घाउमा मल्हम लगाउन पाउँदा स्वास्थ्यकर्मी पनि खुसी नै हुनेगर्दछन् । तर, परिवारको याद नआउने भने कदापि होइन । स्वास्थ्यका कारण परिवारसँग नभई अस्पतालमा दिन बिताइरहनुको पीडा बिरामीसँग पनि छ । तर, आफ्नो घर परिवार नभनि रातदिन चाडपर्वमा पनि सेवामा किन्चित विचलित नभई स्वास्थ्यकर्मीले दिइरहेको सेवाप्रति बिरामी र बिरामीका आफन्त पनि दंग छन् ।