म्याग्दी । चाडपर्वमा समाजमा घट्न सक्ने सम्भावित घटनालाई मध्यनजर गरेर म्याग्दी प्रहरीले विशेष योजना बनाएको छ ।
नेपालीहरुको महान् पर्व बडादशैं तथा शुभ-दीपावली लगायतका चाडपर्वहरुमा विभिन्न किसिमका घटनाहरु घट्न सक्ने भएकाले सम्भावित घटनाको न्युनीकरण गर्न विशेष योजना तयार भएको प्रहरीले जनाएको छ । म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले यसपाली चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा सतर्कता अपनाइएको बताउनुभयो ।
‘चाडपर्वमा बढी घटनाहरु घट्ने हुँदा बजार आसपास क्षेत्रमा प्रहरीको गस्ती बढाइएको छ । सादा पोसाकमा प्रहरी परिचालनलाई समेत प्राथमिकतामा राखिएको छ,’ मरासिनीले भने । उनले बजारका होटलहरुमा बास बस्नेहरुको रेकर्ड राख्न लगाउने जस्ता कार्यहरु गरिने बताए ।
चाडपर्वमा बढी मेला हुने ग्रामीण क्षेत्रमा अपराधी नियन्त्रणका लागि ग्रामीण क्षेत्रमा रहेका प्रहरी चौकीबाट समेत नियमित निगरानी बढाइएको बताउँदै अपराधिक घटना न्यूनिकरणमा आम नागरिकबाट समेत सहयोगको अपेक्षा गरिएको बताए । त्यस्तै ग्रामिण क्षेत्रमा अनुमति लिएर सञ्चालन गरिएको मेलापर्वमा खटिएको प्रनाउ मरासिनीको भनाई छ ।
जिल्लाको सदरमुकाम आसपासका क्षेत्रमा गोप्य रुपमा जुवातास खेलाउने जस्ता गैरकानुनी क्रियाकलाप हुने गरेको जानकारी पाएपछि प्रहरीले साधा पोशाकमा परिचालन गरेको छ । त्यसैगरी जिल्लामा चोरी, डकैती, लुटपाट, अनियमित भाडा असुल्ने, ओभरलोड लगायतका थुप्रै घटनालाई लक्षित गरी विषेश चेकपोष्ट खडा गरी १ सय ४० जना प्रहरीलाई परिचालन गरिएको छ ।
त्यस्तै साधा पोशाकमा जिल्ला सदरमुकाम बेनीदेखि ग्रामिण क्षेत्रसम्म प्रहरीलाई परिचालन गरिएकाले कुनैपनि घटना भएमा तत्कालै प्रहरीले नियन्त्रणमा लिन सक्ने गरी संयन्त्र तयार गरेको बताए । उनले विगतका घटनालाई समेत लक्षित गरी नियमित रुपमा प्रहरीको गस्ती बढाउने तथा कालिपुलमा स्थापना गरिएको प्रहरी सहायता कक्षामार्फत म्याग्दीभित्र र मुस्ताङ जाने यात्रुलाई चर्को भाडा असुल्ने कार्य रोक्न प्रहरी नै यात्रुको रुपमा परिचालन गरिएका बताए । प्रहरीले हालसम्म सामान्य घटनाबाहेक कुनै पनि त्यस्ता गतिविधिहरु नदेखिएको जनाएको छ ।