काठमाडाैं : नेपाल–भारत सीमानाका बैतडीको झुलाघाट नाका आजदेखि तीन दिनका लागि बन्द हुने भएको छ । भारतको पिथौरागढ जिल्लामा अक्टोबर ५ तारेख (असोज १८ गते) जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलताका कारण जनाउँदै सीमा नाका बन्द हुन लागेको हो ।
आज साँझ ५ बजेदेखि १८ गते साँझ ५ बजेसम्म तीन दिन अन्तर्राष्ट्रिय सीमा (पुल) बन्द हुने भएको हो । यसका साथै अक्टोवर १६ तारेख(असोज २८ गते) दिन भारतको पिथौरागढ जिल्ला धार्चुला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गरी दार्चुलाको सीमानाका पनि बन्द हुने भएको छ ।
उक्त नाका असोज २७ गते साँझ ५.१५ बजेदेखि असोज २९ गते साँझ सवा ५.१५ बजेसम्म बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । चाडपर्वको बेला सीमानाका बन्द हुने भएपछि भारतबाट घर फर्किने नेपालीलाई समस्या हुने देखिएको छ । आकस्मिक रुपमा निर्वाचनको बिचमा पुल खोल्नुपरेमा आपसी समझदारीमा खोल्न सकिने बताइएको छ ।
बैतडी प्रहरीको विशेष सुरक्षा योजना लागू नेपालीहरुको मुख्य चाडपर्व दशैंँतिहारलाई मध्यनजर गर्दै बैतडी प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वलाई शान्तपूर्ण रुपमा सम्पन्न गराउने सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चाडपर्वका बेला हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राखेर प्रहरी निरीक्षकको कमाण्डमा जिल्लाभरी ३३२ प्रहरी खटाइने बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । यसका साथै सुरक्षाको लागि उपलब्ध स्रोतसाधन अधिकतम खटिने जनाइएको छ ।
सम्भावित आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न कडाइका साथ चेकजाँचको व्यवस्था मिलाइएको छ । यस्तै पाटन, मेलौली र सदरमुकाम क्षेत्रमा गाडी स्टेण्डबाइ राख्ने र आवश्यक परेमा अन्य सरकारी निकायसँग पनि समन्वय गर्ने सुरक्षा योजनामा समेटिएको छ । यस्तै वित्तीय कारोबार हुने क्षेत्र, मेला हुने क्षेत्रलाई विशेष निगरानीमा राखेर प्रहरी परिचालन गरिने बताइएको छ ।
चाडपर्वका बेला हुनसक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सवारी चेकजाँचलाई अझै प्रभावकारी बनाइने प्रहरीले जनाएको छ । मादकपदार्थ ओसारपोसार, बेचबिखन र सेवनलाई नियन्त्रणका लागि सम्बद्ध पक्षसँग समन्वय गरिनेछ । स्थानीय तह, स्थानीय प्रसासन तथा सम्बद्ध पक्षसँग समन्वय गरी बजार अनुगमनलाई प्रभावकारी बनाइएको छ ।
जिल्लाका पाँच स्थानमा ट्राफिकसहित अन्य १० स्थानमा नेपाल प्रहरीको चेकिङको व्यवस्था मिलाइएको छ । दैनिक सात वटा पैदलगस्ती र सीमानाकामा २४ सै घण्टा चेकजाँचको व्यवस्था गरिएको छ । कालोबजारी, जुवातास तथा झै झगडाजस्ता घटना उपर निगरानी बढाइने र संलग्नलाई कानून बमोजिम कारवाही हुने भएको छ ।
तीन वटा प्रहरीको टोलीलाई सादा पोशाकमा समेट खटाईएको छ । शान्ति सुरक्षालाई मजबुद बनाउन नियमित चेकिङ तथा दु्रत परिचालन टोलीसमेत परिचालन गरिएको छ । सवारी दुर्घटना तथा यात्रु लुटिने, ठगिनसक्ने सम्भावनालाई मध्यनजर राखी सीमानाकासहित जिल्लाका पाँच स्थानमा स्वास्थ्यकर्मीसहित यात्रुसहयता कक्ष स्थापना गरिएको छ ।