युरोपेली संघ छाड्ने विषयमा ब्रिटेनले ल्यायाे नयाँ प्रस्ताव
वीरगंज संजाल
१६ आश्विन २०७६, बिहीबार १०:११
३०८५
एजेन्सी । ब्रिटेनले युरोपेली सङ्घ छाड्नेसम्बन्धी नयाँ प्रस्ताव सार्वजनिक गरिएको छ।
विवादित मानिएको एउटा मुद्दामा ब्रिटेनले उत्तरी आयरल्यान्डलाई युरोपेली एकल बजारकै हिस्सामा रहने गरी तर भन्सार युनियन त्याग्ने गरी प्रस्ताव गरिएको छ । यसअघि प्रधानमन्त्री बोरिस जोनसनले आफूले ब्रेक्जिट सहमतिसम्बन्धी “रचनात्मक तथा यथोचित“ प्रस्ताव ब्रसल्समा पठाएको बताएका थिए ।
उनले त्यो प्रस्ताव स्वीकार्नुको विकल्प भनेको सहमतिविहीन ब्रेक्जिट मात्र हुने चेतावनी दिएका थिए। सत्तारुढ पार्टी कन्जरभेटिभको एउटा सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले यूकेले युरोपेली सङ्घसँग नयाँ सम्बन्ध चाहेको बताए । युरोपेली आयोगले प्रस्ताव अध्ययन गरेपछि केही समयमा प्रतिक्रिया दिने जनाएको छ ।
म्यानचेस्टरमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले आफ्नो पछिल्लो प्रस्तावले यूकेले गरेको सम्झौता दर्शाउने बताए । साथै उनले यसलाई ईयूले बुझ्ने र त्यसैअनुरूप उसले पनि सम्झौता गर्ने आशा व्यक्त गरे ।
युरोपेली आयोगले उक्त प्रस्तावलाई वस्तुपरक ढङ्गले परीक्षण गर्ने बताएको छ । यूकेले ३१ अक्टोबरमा ईयू छाड्दैछ।