मापसे गरेर यात्रु बोक्ने तीन चालक प्रहरी नियन्त्रणमा
वीरगंज संजाल
१६ आश्विन २०७६, बिहीबार १०:०२
३२५१
काठमाडौं । दशैँको समयमा मादक पदार्थ सेवन गरेर यात्रु बोक्ने गरेको पाइएको छ । नयाँ बसपार्कबाट मुलुकका विभिन्न भागमा जाने यात्रुवाहक सवारी साधन जाँचका क्रममा बुधबार साँझ मापसे गरेर यात्रु बोक्ने तीन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
एक चालक भने फरार रहेको महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कले जनाएको छ । ट्राफिक प्रहरीले विभिन्न सङ्घसंस्थाको सहकार्यमा चाडपर्वलाई लक्षित गरेर जनचेतनामूलक अडियो सञ्चालनमा ल्याए पनि मापसे सेवन गरेर सवारी चलाउने कार्य भने रोकिएको छैन ।
प्रहरीको नियन्त्रणमा पर्नेमा ना५ख १३२१ नंका चालक रोशन विश्वकर्मा, ना५ख ७३६९ नं बसका चालक शिवजी गिरी, बा४ख ९०६० नंका चालक रितेश नेपाल रहेका छन् । ना८ख ७२९८ नंका चालक भने फरार रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
वृत्तका प्रमुख, प्रहरी निरीक्षक मुनेन्द्र थापाले दशैँको समयमा मापसेबाट हुने दुर्घटनामा कमी ल्याउन हरेक दिन नयाँ बसपार्कबाट उपत्यका बाहिरिने सवारी साधनलाई मापसे जाँच गर्ने गरेको बताउनुभयो । “दशैँ लागेसँगै हरेक दिन नयाँ बसपार्कबाट उपत्यका बाहिर जाने यात्रुबाहक सवारी साधनका चालकलाई जाँच गरेका छौँ, बुधबार मात्र चार चालकलाई मापसे सेवन गरेको भेट्टायौँ”, उहाँले भन्नुभयो ।
नियन्त्रणमा रहेकाहरुलाइ कानूनबमोजिम कारवाही गरिने प्रहरी निरीक्षक थापाको भनाइ छ । नयाँ बसपार्कबाट हाल दैनिक ७०० को हाराहारीमा देशका विभिन्न भागमा सार्वजनिक सवारी साधन आवतजावत गर्ने गरेका छन् । मापसे गरेर चलाएको सार्वजनिक बसमा भने अर्को चालक खोजेर यात्रुलाई गन्तव्यस्थलसम्म पठाउने काम गरिएको छ ।