काठमाडौं । बजारभाउ हस्तक्षेप, नियन्त्रण तथा अनुगमनका लागि करिब आधा दर्जन सरकारी निकाय खडा छन् । तर, यी निकायबीच प्रभावकारी समन्वय हुन सकेको छैन ।
हाल वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गर्दै आएको छ । तर, अनुगमन सुस्त छ ।
दसैंतिहारलाई लक्षित गर्दै सरकारले बजार अनुगमन कार्य तीव्र बनाएको दाबी गरे पनि सो अनुगमन प्रभावहीन भएको देखिएको छ ।
दसैंका मौकामा व्यापारी व्यवसायीले उपभोक्ताबाट मनपरी मूल्य लिइरहेका छन् । बजार अनुगमनको जिम्मेवार पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले अनुगमनको प्रभाव भएको दाबी गरे पनि उपभोक्ताले सरकरी अनुगमनको अनुभूति गर्न पाएका छैनन् ।
दसैं सुरु भएपछि व्यापारीले दैनिक उपभोग्य वस्तु, हरियो तरकारीदेखि लुगा, कपडा चुत्ताचप्पलजस्तै सबै वस्तुमा व्यापारीले मनोमानी मूल्य लिइने गरेका छन् ।
हरियो तरकारी व्यावसायीले विभिन्न वहानामा बोडी, सिमीलगायत हरियो तरकारी र घिउको मूल्य दोब्बर÷तेब्बर बढाएका छन् ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा नै उल्लंघन भएको बताए ।
‘उपभोक्ता संरक्षण ऐनमा व्यापारीले अनिवार्य रूपमा व्यापारिक फर्म दर्ता गर्नदेखि मूल्यसूची राख्नुपर्ने व्यवस्था गरेको छ तर व्यापारीले बजार मूल्यसूची नै नराखेर उपभोक्तासँग मनपरी मूल्य लिइरहेका छन्,’ अध्यक्ष माधव तिमल्सिनाले भने ‘सबै उपभोक्ता ठगिरहेका छन् ।’
‘संख्यात्मक रूपमा सरकारी अनुमगन भएको छ तर अनुगमन गुणस्तर छैन । सरकारी अनुगमन नै फितलो छ । ठाउँठाउँमै उपभोक्तालाई व्यापारीले ठगिरहेका छन,’ उनले भने ।
बिचौलियाले साता दिनमै तरकारीमा प्रतिकेजी १० देखि ६० रुपैयाँ बढाएको छन् । ‘व्यापारीको मनपरीले सर्वसाधारणको भान्सा थेग्न मुस्कल हुँदासमेत सरकार भने मुकदर्शक भएर बसेको छ,’ उनले भने, ‘सरकारले बजार अकासिएको मूल्य नियन्त्रण गर्न कुनै कदम चालेको छैन ।’
अध्यक्ष माधव तिमल्सिनाका अनुसार कुनै वस्तुमा त बिचौलियाले प्रतिकेजीमै १ सय रुपैयाँसम्म मूल्य बढाएका छन् । ‘सरकारी बजार अनुमन प्रायः शून्य नै छ । यसको फाइदा व्यापारीले लिइरहेका छन्,’ मञ्चका अध्यक्ष माधव तिमल्सिनाले भने ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दसैंतिहारलाई लक्षित गर्दै काठमाडौं उपत्ययकामा मात्र दैनिक सात÷आठ टोली खटेर अनुगमनलाई तीव्रता दिएको जनाएको छ । विभागका महानिर्देशक योगेन्द्र गौचनले मिडियालाई सँगै नलिएर प्रचारप्रसार नहुँदा अनुगमन प्रभावकारी नभएको देखिएको बताए ।
कौशिला कुँवरले राजधानी दैनिकमा यो समाचार लेखेकी छिन् ।