पर्सा । अज दसैंको चौथो दिन । घटस्थापनाको दिन जमरा राखेर औपचारिक रुपमा सुरु भएको बडादसैंको चौथो दिनमा कुष्माण्डा देवीको पूजा अर्चना गर्ने गरिन्छ ।
दसैं घरमा आज विशेष रुपमा कुष्माण्डाको पूजा अर्चना गर्ने शास्त्रीय मान्यता छ । सृष्टिको प्रतीकका रुपमा मानिने कुष्माण्डालाई संसारको सृष्टिका लागि प्रकट भएको पनि मानिन्छ ।
कुष्माण्डा देवीमा उष्णता (गर्मी) र शीतलता (जाडो)लाई सन्तुलन कायम गर्दै सिर्जना गर्नसक्ने शक्ति रहेको मानिन्छ । कुष्माण्डालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पनि पूजा गर्ने गरिन्छ ।
सिंहमा चढेकी, हातमा रक्तपूर्ण दुई वटा घडा लिएकी देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको पौराणिक मान्यता छ ।
कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ । शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ ।