इश्लामावाद । पाकिस्तानले आउँदो महिना करतारपुर कोरिडोरको उद्घाटन कार्यक्रमका लागि भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहलाई निम्तो दिने निर्णय गरेको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैसीले सो कार्यक्रमका लागि भारतका पूर्वप्रधानमन्त्री सिंहलाई बोलाउने निर्णय भएको जनाएका छन् । भारतका पूर्वप्रधानमन्त्री सिंहको कार्यालयले भने त्यस खालको कुनै निम्तो नआएको जनाएको छ ।
सो कोरिडोरको आउँदो नोभेम्बर महिनाको ९ तारेखमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गएको अगस्ट महिनामा भारतले काश्मीर मामिला सम्बन्धी संविधानबाट धारा ३७० हटाएपछि दुई देशका सरकारबीच भने तनाव उत्पन्न भइरहेको छ । तर, पाकिस्तानले भारतको विपक्षी दल कांग्रेस (आइ)का नेता समेत रहेको पूर्वप्रधानमन्त्री डा. सिंहलाई भने निम्तो दिने निर्णय गरेको हो । (बीबीसी)