९ हजार १६२ कर्मचारीको विज्ञापन आव्हान गर्दै लोकसेवा
वीरगंज संजाल
१२ आश्विन २०७६, आईतवार ०५:५५
४५९९
काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपालका विशिष्ट पदका व्यक्ति र निजामती कर्मचारीको क्षमता अभिवृद्धि गर्न काभ्रेको नवोबुद्ध नगरपालिकामा सङ्घीयता अध्ययन केन्द्र निर्माण गरिने बताएका छन् ।
आज नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको ‘३७ औं वार्षिककोत्सव तथा कर्मचारी पुनःमिलन समारोह’ मा मन्त्री पण्डितले विभिन्न तीन तहको सरकारमा रहेका राजनतीतिक दल र निजामती कर्मचारीको कामलाई चुस्त र दुरुस्त बनाउन सो अध्ययन केन्द्रले सहयोग गर्ने बताए । उनले भने “यो अध्ययन केन्द्रमा विश्वकै संविधान अवलम्वन गर्ने देशका मानिसहरुले बसेर अध्ययन र अनुसन्धान गर्न पाउने छन् ।”
सरकारले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई सातै प्रदेशमा विस्तार गर्न लागेको मन्त्री पण्डितले जानकारी दिए । उनले भने “दुई महीनाभित्र सातै प्रदेशका भवन हस्तान्तरण गरी काम अघि बढाउने भएका छौं ।”
लोकसेवाले दशैँको अन्तिमसम्ममा स्थानीय तहका लागि ९ हजार १६२ कर्मचारीको विज्ञापन आव्हान गर्ने उनले बताए ।
देशलाई अझ व्यवस्थित बनाउन हरेक नेपालीलाई प्रशिक्षणको जरुरत रहेको मन्त्री पण्डितले बताउँदै भने “त्यसपछि मात्र मुलुकअघि बढ्ने छ । ”
सो प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले निर्माण हुन लागेको सो अध्ययन केन्द्रले मुलुकको उच्च तहमा रहेका व्यक्तिलगायत कर्मचारीलाई गुणस्तरीय प्रशिक्षणका साथै परामर्श दिने बताए ।