मुख्यमन्त्री राउतको स्वकीय सचिव : ‘खुकुरी भन्दा कर्द लाग्ने’
वीरगंज संजाल
१० आश्विन २०७६, शुक्रबार २१:३८
९५१३
वीरगञ्ज : ‘खुकुरी भन्दा कर्द लाग्ने’ भन्ने उखान नेपाली समाजमा प्रचलितै छ । हो यो उखान टुक्का चरितार्थ हुन पुगेको छ, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतका हकमा ।
प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवलसँगै रहेको तिलोत्तमा नगरपालिकाले गरेको लगानी सम्मेलनमा सहभागी हुने बुटवल पुगेका मुख्यमन्त्री राउत सम्मेलनपछि गौतम बुद्धको जन्म स्थल लुम्बिनीको भ्रमणमा निस्केका थिए । लुम्बिनी पुग्दा स्थानीय र लुम्बिनी विकास कोषका पदाधिकारीले स्वागत गरेका थिए ।
मुख्यमन्त्री राउतले सम्मेलनमा केही व्यापारी र नेताहरुसँग भलाकुसारी गरेपछि लुम्बिनी पुगेका थिए । लुम्बिनीमा उनले गौतम बुद्ध सम्बन्धी विभिन्न जानकारी लिएका थिए । कुरा यतिसम्म त ठिकै छ । तर, उनका स्वकीय सचिव रहेका दिपक यादवको चर्तिकला भने अनौठो देखिन्छ ।
मुख्यमन्त्री राउतलाई लुम्बिनीको भ्रमण गर्दा मायादेवीको मन्दिर आउने गरी फोटो खिच्न मन लाग्यो । आफ्नो स्वकीय सचिव यादवलाईसँगै राखेर मुख्यमन्त्रीले फोटो खिचाए । फोटो खिच्दा मुख्यमन्त्री राउतसँगै रहेका यादवको हात भने खल्तिभित्र रहेको देखिन्छ । त्यस्तै अर्को फोटोमा पनि मुख्यमन्त्रीले केही कुरा बताइ रहेको दृश्यमा पनि यादवको हात खल्तिमै देखिन्छ । जुन फोटाहरु यादवले आफ्नो फेसबुकमा राखेका छन् ।
यो दृश्य हेरेपछि धेरैले स्वकीय सचिव यादवको शैलिमाथि प्रश्न उठाएका छन् । यादवको शिष्टाचार शैली नभएको र परिपक्व पनि नभएको टिप्पणी गरेका छन् ।