चिनियाँ राष्ट्रपति ‘सी’ को नेपाल भ्रमण : उच्च सुरक्षा योजना बनाउँदै सरकार
वीरगंज संजाल
९ आश्विन २०७६, बिहीबार ०६:३५
४९०७
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई लक्षित गरी सरकार उच्च स्तरीय सुरक्षा योजना बनाउन लागिपरेको छ ।
चिनियाँ राष्ट्रपति भारत हुँदै २६ असोजमा काठमाडौं आउने बताइएको छ भने २७ असोजमा उनी बेइजिङ फर्कने सुरक्षा उच्च स्रोतले बताएको छ । तथापि, औपचारिक रूपमा सीको भ्रमणको मिति सार्वजनिक गरिएको छैन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने समिट पछि उनी नेपाल आउने बताइएको छ । उनी सोल्टी होटलमा बस्ने कार्यक्रम दुतावास स्रोतले बताएको छ ।
जसका कारण प्रहरीले उनको भ्रमण हुने क्षेत्रमा अहिलेदेखि नै विशेष निगरानी सुरु गरेको छ । २६ असोजमा उनले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नेछन् भने २७ असोजमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य राजनीतिक दलका नेतासँग भेट्ने कार्यक्रम छ ।
सरकारले सुरक्षा रणनीतिसहित यी सबै विषयमा विशेष सुरक्षा संयन्त्र तयार गर्न सुरु गरेको छ । चिनियाँ राजदूतावासले समेत सुरक्षाको अवस्थाको अध्ययन गरिरहेको छ । सीको नेपाल भ्रमण हुने निश्चित भएसँगै चीनबाट उच्चस्तरका कर्मचारी नेपाल आइसकेका छन् ।
पहिलो घेरामा नेपाल प्रहरी
सरकारले चिनियाँ राष्ट्रपति ‘सी’ को भ्रमणका बखत नेपाल प्रहरीलाई पहिलो सुरक्षा घेराको जिम्मेवारी दिने गरी तयारी अघि बढाएको छ । दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई सुरक्षाका लागि खटाइँदै छ । ठूलो संख्यामा सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरिँदै छ । हतियारसहित र हतियारबाहेक पनि सूक्ष्म निगरानीका लागि नेपाली सुरक्षाकर्मी परिचालन गर्ने तयारी सरकारी पक्षबाट भइरहेको गृह स्रोतले बतायो ।
यसैगरी, केन्द्रीय अनुसन्धान ब्युरोबाट समेत सुरक्षाकर्मी खटिने छन् भने भ्रमणका बखत पर्ने सडकका रुटमा गोप्य रूपमा सुरक्षाकर्मी परिचालन गर्ने सरकारको तयारी छ । सरकारले सबै सुरक्षा अंगबाट गरी करिब १० हजारको संख्यामा सुरक्षाकर्मी खटाउने तयारी गरेको बताइएको छ ।
सेनाको हवाइ गस्ती ‘सी’ नेपाल आउनुअघिबाट नै नेपाली सेनाले राजधानीमा हवाइ गस्ती गर्नेछ । विमानस्थलदेखि होटलको रुट र होटलदेखि राष्ट्रपति निवाससम्ममा पर्ने सडकमा समेत सेनालाई हेलिकोप्टरमार्फत स्कर्टिङमा खटाउने सरकारको तयारी छ ।
कुनै चुनौती छैन : प्रहरी
भीआईपी तथा भीभीआईपीको सुरक्षामा नेपाल प्रहरीसँग लामो अनुभव रहेकाले चिनियाँ राष्ट्रपतिको भ्रमणमा सुरक्षा व्यवस्था मजबुद हुने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी विश्वराज पोखरेलले बताए ।
डीआईजी पोखरेलले भने, ‘भीआईपी तथा भीभीआईपीको सुरक्षामा प्रहरीको अनुभव र सबै सुरक्षा निकायको एकीकृत समन्वयात्मक परिचालनबाट भ्रमणमा उत्कृष्ट सुरक्षा व्यवस्था हुनेछ ।’
उनले नेपालमा हाल कुनै पनि किसिमको सुरक्षा चुनौतीको नरहेको दाबी गरे । उनले भ्रमणको केही दिनअघिबाट नै प्रहरीले ‘सिटी क्ल्यिरेन्स’ अभियान सुरु गर्नेसमेत बताए ।
आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन् ।