काठमाडौं । गुठी संस्थानको संरचना र कार्यशैलीमा परिवर्तन आउन नसक्दा गुठीको सम्पत्ति संरक्षणमा चुनौती थपिँदै गएको छ ।
गुठी परम्परा सञ्चालन, चल–अचल सम्पत्तिको संरक्षण तथा व्यवस्थापन गर्ने उद्देश्यले ५६ वर्षअघि स्थापना भएको संस्थानले उद्देश्यअनुरूप काम गर्न नसक्दा गुठीमाथि नै प्रश्न सिर्जना हुन पुगेको हो ।
संस्थानले गुठीका सम्पत्ति संरक्षण र अभिलेख व्यवस्थापन प्रभावकारी बनाउन नसक्दा संस्थानको कार्यशैली र औचित्यतामाथि प्रश्न उठेको छ ।
संस्थानका प्रशासक नारायण चौधरी गुठीको मुख्य चुनौती गुठी जग्गा अतिक्रमण न्यूनीकरण रहेको बताउँछन् ।
‘अतिक्रमणमा परे पनि अतिक्रमणबारे सूचना न्यून मात्रामा आउँछन् । कर्मचारी अभावमा सबै स्थानको जानकारी पाउन सकिँदैन,’ चौधरीले भने ।
निजी गुठीका सम्बन्धमा अधिकार नपाउनु र कर्मचारी अभाव हुनु अर्को समस्या रहेको उनको भनाइ छ । प्रशासक चौधरी मुलुक संघीय संरचनामा गएको चार वर्षसम्म पनि कर्मचारीको पदपूर्ति हुन नसकेको दाबी गर्छन् ।
जसकारण झन्डै ६० प्रतिशत कर्मचारी अभाव रहेको उनले बताए । तर, भएका कर्मचारीबाटै प्रभावकारी कार्यसम्पादन हुन नसकेको सरोकारवालाको भनाइ छ ।
आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले यो समाचार लेखेका छन् ।