हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको तयारी पूरा
वीरगंज संजाल
६ आश्विन २०७६, सोमबार २३:२२
५९४१
झापा : झापाको विर्तामोडमा असोज ११ गतेदेखि आयोजना हुने हाम्रो ‘पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप– २०७६’ को तयारी पूरा भएको छ ।
विजया दशमीको अवसर पारेर जायोन स्पोर्टस् क्लब विर्तामोडले प्रातियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा दुई विदेशीसहित आठ फुटबल टिमले सहभागिता जनाउने विर्तामोडमा आज पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
आयोजक समितिका सचिव महेन्द्र पाण्डेका अनुसार प्रतियोगिताको विजेता टिमले रु १२ लाख ५० हजार र उपविजेताले रु छ लाख २५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।
विर्तामोडस्थित डोमलाल राजवंशी रङ्गशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको र गोल्डकप सम्पन्न गर्न रु ८० लाख खर्च लाग्ने अनुमान गरिएको छ । असोज १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा सिक्किम आक्रमक र सङ्कटा फुटबल क्लबबीच प्रतिस्पर्धा हुने बताइएको छ ।
प्रतियोगितामा दुई विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबसहित झापा ११, गोर्खा ब्वाइज रुपन्देही, थ्रीस्टार क्लब, मोलवे आसाम गरी आठ टिमको सहभागिता रहने आयोजक समितिका सचिव पाण्डेले जानकारी दिए।
प्रतियोगिताको मुख्य प्रयोजकका रूपमा अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था रहेको आयोजक समितिले जनाएको छ । – रासस