चीनको विकास मोडल सिक्दै सत्तारूढ नेकपा, सी आउनुअघि वैचारिक प्रशिक्षण
वीरगंज संजाल
६ आश्विन २०७६, सोमबार ०८:५१
५९१५
काठमाडौं । सत्तारुढ नेकपाले मुलुकको विकासका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङको विचारधारा लागू गर्ने तयारी थालेको छ । नेकपाले चीनमा चामत्कारिक विकास गर्न सफल सीको विचाराधाराबारे पार्टीमा प्रशिक्षण दिँदै सीको विकास मोडल लागू गर्ने गृहकार्य अघि बढाएको हो । नेकपाले अवलम्बन गरेको जनताको जनवाद (जज) र जिनपिङको विचारधाराबारे केन्द्रित भई आज(सोमबार)देखि प्रशिक्षण सुरु हुन लागेको नेकपाले जनाएको छ ।
चिनियाँ राष्ट्रपति जिनपिङको नेपाल भ्रमणको तयारी भइरहेको समयमा सी विचारधारालाई नेकपाले अवलम्बन गर्न लागेको हो । स्कुल विभागमा हुने प्रशिक्षण पछि सी विचारधारालाई अवलम्बन गर्दा पार्टी बलियो हुने नेकपाको बुझाइ छ । कतिपयले सीको नेपाल भ्रमणलाई लक्षित गरी सो विषय अगाडि सारिएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्कुल विभागले चिनियाँ कम्युनिस्ट पार्टीका उच्चस्तरका नेतासहित जज र सी विचारधारबारे सोमबार र मंगलबार राजधानीमा छलफल तय गरेको हो ।
नेकपाको यो तयारीलाई नेपालस्थित कूटनीतिक नियोगहरूले समेत विशेष चासो दिएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको केही समयअघि भएको नेपाल भ्रमणका क्रममा समेत सी विचारधारा अवलम्बन गर्ने विषयमा छलफल भएको थियो ।
सो कार्यक्रमा नेपाल र चीनका तीन सय बढी नेता सहभागी हुने प्रचार विभागका उपप्रमुख सूर्य थापाले बताए ।
नेकपा सचिवालयका नौ जना, स्थायी कमिटीका ४५ जना, केन्द्रीय कमिटीका एक तिहाइ गरी नेपालबाट २ सय ५० जना नेता सहभागिता हुने स्कुल विभागले जनाएको छ । चीनबाट चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ तावको नेतृत्वमा ४० चिनियाँ नेता सहभागी हुँदै छन् । याे खबर आजकाे राजधानी दैनिकमा छ ।