दशैंकाे मुखैमा तरकारीको मूल्य थेग्नै नसक्ने गरी बढ्यो
वीरगंज संजाल
६ आश्विन २०७६, सोमबार ०८:१२
४२२५
काठमाडौं : चाडपर्वका बेलामा अत्याधिक आवश्यक पर्ने तरकारीको मूल्य थेग्नै गाह्रो हुने गरी बढेको छ । आलु, प्याजलगायतका तरकारीको मूल्य आमनेपालीले धान्न नसक्ने गरी बढेको हो । सरकारले प्रभावकारी बजार अनुगमन नगर्दा व्यापारीले विभिन्न बहानामा तरकारी लगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् ।
एक साताअघि ९३ प्रतिकिलो रहेको प्याजको मूल्य अहिले १२५ नाघेको छ । त्यस्तै, एक साताअघि ६५ प्रतिकिलो पर्ने आलुको मूल्य अहिले ७५ नाघेको छ । बन्दा, काउली, मुला, भन्टा, बोडी, हरियो फर्सी, तीते करेलालगायतका तरकारीको मूल्य पनि यसरी नै बढेको छ । यो वर्ष भारत र नेपालमा उत्पादनमा कमी आएपछि तरकारीको मूल्य निरन्तर उकालो लागेको व्यवसायीहरू बताउँछन् । नेपाल आलुमा ६० प्रतिशत र प्याजमा ९० प्रतिशत भारतमाथि निर्भर छ ।
काठमाडौंको थोक बजारमा आइतबार बोडी प्रतिकिलो १२० देखि १२५ र पर्बल ९० देखि ९५ रुपैयाँमा कारोबार भयो । त्यस्तै, उपभोक्ताले भिन्डी र काउलीलाई प्रतिकिलो १ सय २० रुपैयाँसम्म तिरेका छन् । थोक बजारमै घिरौंला, ठूलो खुर्सानी र सिमी प्रतिकिलो ९० देखि ९५ रुपैयाँ बढीमा किनबेच भयो । एक सातापहिले खुद्रा बजारमै प्रतिकिलो ६० देखि ८५ रुपैयाँमा पाइन्थ्यो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।