पर्साका चौरसियासहित तीन प्रधानाध्यापकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
वीरगंज संजाल
३ आश्विन २०७६, शुक्रबार १५:५६
४७६१
वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकाको शिक्षा शाखामा कार्यरत विद्यालय निरीक्षक शिक्षा अधिकृत राजेश्वरप्रसाद चौरसियासहित तीन प्रधानाध्यापकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा १० वटा भ्रष्टाचार मुद्दा दायर गराएको छ ।
गाउँपालिकामा विभिन्न व्यक्तिहरुसँग घुस लिएर करार शिक्षक तथा बाल विकासको शिक्षिकको रुपमा नक्कली नियुक्ति दिएको अभियोगमा अख्तियारले चौरसियासहित सो कार्यमा सहयोग गर्ने नेपाल राष्ट्रिय माध्यामिक विद्यालय सेढवा विर्ताका भूतपूर्व प्रधानाध्यापक महेश प्रसाद यादव, जनसेवा प्रा.वि. जगरनाथपुर सिराका प्रधानाध्यापक हकिम अन्सारी, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, जमुनियाँका प्रधानाध्यापक नागेन्द्र प्रसादविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको हो ।
अधिकृत चौरसियासहित तीनै जना प्रधानाध्यापकहरुले आपसी मिलेमतोमा घुस रकम लिएर विभिन्न १० जनालाई प्रक्रिया नै पुरा नगरी शिक्षकमा नियुक्ति दिनुका साथै सरकारी तलब भता समेत खुवाएका थिए ।
अधिकृत चौरसियासहित उनका सहयोगीविरुद्ध अख्तियारले विशेष अदालतमा २६ लाख ५५ हजार २ सय ४० रुपैयाँ बिगोसहित भ्रष्टाचार मुद्दा दायर गराएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदिप कुमार कोइरालाले जानकारी दिए ।