दोहरो नारिक्ताबारे उजुरी दर्ता भएको दुई महिना वित्दा पनि छानविनमा ढिलाई
वीरगंज संजाल
३ आश्विन २०७६, शुक्रबार ००:२८
४४९५
वीरगन्ज ।दोहरो नागरिक्ता लिएर नेपाल बस्दै आएका नागरिकलाई मुलुकमा छानविनको प्रक्रिया कडाईका साथ अगाडि बढाई रहेको अवस्थामा पर्सामा दोहरो नागरिकलाई बचाउने कार्य भइरहेको तथ्य फेला परेको छ । नेपाल भारत दुबै देशका नागरिक्ता लिएर वीरगन्ज आदर्शनगर – १० बस्दै आएकी एक महिला विरुद्ध नागरिक्ता छानविन गर्नका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दर्ता भएको २ महिना वित्न लाग्दा पनि कारवाही हुन सकेको छैन ।
भारतको झारखण्ड राज्य धनवाद जिल्ला कतरास घर भई वीरगन्ज आदर्शनगर – १० निवासी राजेश खण्डेलवालसँग विवाह गरि नेपालको नागरिक्ता प्राप्त गरि दुबै देशका नागरिक्ता लिएर बस्दै आएकी छिन् । विवाह पश्चात भारतको नागरिक्ता रद्द गराई नेपालको नागरिक्ता प्राप्त गर्नुपर्नेमा त्यसो नगरी दुबै देशको नागरिक्ता बोकी दुबै देशमा बसोबास गर्दै आएकी छिन् ।
यस विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा लिखित उजुरी दर्ता भएतापनि जिल्ला प्रशासन कार्यालयले हालसम्म द्वैध नागरिक्ता बोकेकी शोभा खण्डेलवाललाई कारवाही गर्न सकेको छैन । निजका श्रीमान् राजेश खण्डेलवाल वीरगन्जका व्यापारी भएको र उनको प्रशासनसम्म पहुँच भएको कारण नै उनकी श्रीमतीको दोहरो नागरिक्ता विरुद्ध उजुरी परेको महिनौं वित्दा पनि प्रशासनले कारवाही गर्न आलटाल गरेको हो । शोभा खण्डेलवालको दोहरो नागरिक्ताबारे छानविनका लागि साउन २ गते नै दर्ता नं. ८ मा जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दर्ता भएको हो ।
यस विषयमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मासँग बुझ्दा दोहरो नागरिक्ता छानविन प्रक्रिया सम्वेदनशील भएको कारण यसमा अलि समय लाग्ने बताए । उजुरी पर्ने वित्तिकै कारवाही प्रक्रिया अगाडि बढाइन्छ, त्यो उजुरीको पनि छानविनको प्रक्रियामा होला, अलि समय लाग्न सक्छ, तर यसबारे प्रमुख जिल्ला अधिकारीसँग नै बुझ्दा अझ प्रगाढ हुने बताए ।