थाइल्यान्डको बौद्धिक मठबाट उद्धार गरिएका आधा बढी बाघको मृत्यु
वीरगंज संजाल
२ आश्विन २०७६, बिहीबार ०७:५४
४५७३
एजेन्सी । थाइल्यान्डको चर्चित बौद्धिक मठबाट उद्धार गरिएका आधा भन्दा धेरै बाघको मृत्यु भएको वन्यजन्तु अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । लोकप्रिय पर्यटकीय आकर्षण मानिएको उक्त मठबाट तीन वर्ष अगाडि १४७ वटा बाघहरुलाई चरम शोषणबाट उद्धार गर्दै सरकारको निगरानीमा राखिएको थियो । तर ती मध्ये ८६ वटा विभिन्न रोगको शिकार भइ उपचारका क्रममा मृत्यु भएको राष्ट्रिय निकुञ्जका अधिकारीले जनाएका हुन् ।
अप्राकृतिक प्रजननमार्फत जन्माइएका कारण नै ती बाघहरु अशक्तता र कमजोर स्वास्थ्यले ग्रस्त भएका थिए । थाइल्यान्डको पश्चिमी प्रदेशस्थित कान्चनाबुरीमा रहेको उक्त मठ एक दशकदेखि चिडियाखानाका रुपमा रहेको थियो जहाँ पर्यटकहरुले बाघलाई खुवाउनदेखि तिनीहरुसँग तस्बिर खिचाउन पाउँथे । तर यसबीच बाघहरुमाथि शोषण गरिएको र तस्करीमा संलग्न रहेको उक्त मठमाथि आरोप रहँदै आएको छ । यसअघि पुलिसले अधिक सङ्ख्यामा बाघका छाला, दाँत पनि फेला पारेका थिए ।
चीनमा बाघका विभिन्न अङ्गहरुलाई परम्परागत औषधिका रुपमा लिइने गरिएकाले पनि यस्ता तस्करी बढेको बताइएको छ । थाइल्यान्डमा अझैपनि एक हजार भन्दा बढी बाघ कैदमा राखिएको छ भने केबल २०० वटालाई मात्र जङ्गलमा स्वतन्त्र छाडिएको छ जबकी जङ्गली बाघको जनसङ्ख्या विश्वव्यापी रुपमा चार हजार रहेको छ । यसअघि थाइ अधिकारीहरुले उद्धार गरिएका बाघको राम्रो ख्याल राखिने र तिनको संरक्षणमा सक्दो प्रयास गर्ने बताएका थिए तर आधा भन्दा बढीको मृत्यु हुनुले पशुअधिकारकर्मीहरुलाई दुःखी बनाएको बताइएको छ ।