कुवेत फर्किन चाहने घरेलु कामदारलाई अब सिफारिस दिइने
वीरगंज संजाल
१ आश्विन २०७६, बुधबार ०७:२८
५४७७
काठमाडौं । कुवेतमा घरेलु कामदारका रुपमा काम गर्ने नेपालीलाई स्वदेश आएपछि फर्किएर जान अनुमति नमिलेको गुनासो आइरहेको भन्दै कुवेतस्थित नेपाली दूतावासले पुनः श्रम स्वीकृतिका लागि अब सिफारिस दिने भएको छ ।
कुवेतस्थित नेपाली दूतावासले मंगलबार एक सूचना प्रकाशित गरी परराष्ट्र मन्त्रालयको हिजोको पत्र र श्रम तथा रोजगारमन्त्रीको यही भदौ १७ को निर्णयअनुसार पुनः श्रम स्वीकृतिको सिफारिस गर्ने निर्णय गरिएको जनाएको छ ।
जसअनुसार विगतमा श्रम स्वीकृति लिएर काम गरिरहेका र आफ्नो अवधि बाँकी रहँदै बिदामा घर गएकाहरुका हकमा त्यस्तो सिफारिस गर्ने दूतावासले जनाएको छ ।
त्यसखालको सिफारिस लिनका लागि घरेलु कामदारको रुपमा स्वीकृति लिइ कुवेत गएको निस्सा प्रमाण, विदामा घर गइ साविकको रोजगारदाताकोमा जाने सुनिश्चितता भएको सम्बन्धी कागजात, म्याद कायम रहेको भिसा, राहदानी र करार संझौता तथा रोजगारदाताको सम्पर्क नम्बर, राहदानी र नागरिक परिचयपत्रको प्रतिलिपि पेश गर्नुपर्ने जनाइएको छ । अन्य कुराको बारेमा जानकारी लिनुपरेमा दूतावासमा सम्पर्क गर्न समेत सो सूचनामा आग्रह गरिएको छ ।