बीबीसी । अष्ट्रेलियामा बस्ने ३३ वर्षीय एक व्यक्तिका लागि पिताको नयाँ जिम्मेवारी सम्हाल्नु सहज थिएन । तर पनि सन्तानको जन्मपछि उनले कार्यालयबाट पितृत्व बिदा पाए र त्यसको पाँच हप्तापछि उनी निद्राबाट वञ्चित अवस्थामा कार्यालय पुगे । उनी भन्छन्, “मलाई काम गरिरहँदा पनि आफ्नी पार्टनरबारे बारम्बार चिन्ता लागिरहेको थियो जो घरमा रोइरहेको बच्चासँग एक्लै बसेकी थिइन् । यता मैले आफ्नो काम पनि पूरा गर्नैपर्ने भएको हुँदा सो क्षण अत्यन्तै तनावग्रस्त बन्न पुग्यो । ”
यसको केही महिनापछि उनी एन्जाइटी र डिप्रेसनको शिकार भए । यसरी बच्चाको जन्मपछि मानसिक रोगको शिकार हुने सयौँ पुरुषहरुमा आफू पनि परेको डेभ एडवर्डले पछि मात्र थाहा पाएका हुन् । उनका अनुसार कार्यालयमा सबैले घरमा के भइरहेको छ, तिम्री पार्टनरलाई कस्तो छ भनेर सोधिरहन्छन् तर उनका बारेमा भने कसैले केही सोधेनन् ।
वकालत समूह, ‘पोस्टपार्टम सपोर्ट इन्टरनेस्नल’का अनुसार अमेरिकामा मात्र १० मध्ये एकजना पिता र सातमध्ये एकजना आमा बच्चाको जन्मपछि डिप्रेसनको शिकार हुने गरेका छन् । यसरी प्रायः सबै विकसित देशहरुको अवस्था यही रहँदै आएको छ । बेलायतमा पनि एक तिहाइ भन्दा धेरै पिताहरु बच्चासँगै थपिने नयाँ आर्थिक जिम्मेवारी र अपूरा निद्राका कारण मानसिक स्वास्थ्य सम्बन्धी चिन्तित रहने गरेको पाइएको हो ।
यसरी पिताका साथै आमाहरुमा पनि यो समस्या देखिन्छ जसले बच्चाको जन्मपछि करिअर र परिवारलाई सन्तुलित राख्न उत्तिकै चुनौतिहरुको सामना गर्नुपर्ने हुन्छ । ‘सेन्टर अफर प्यारेन्टियल लिभ लिडरशीप’ की संस्थापक एमी बिएकमले माइक्रोसफ्ट लगायतका कम्पनीसँगको सहकार्यमा आमा र बाबु दुवैलाई दिइने सुत्केरी बिदाको सदुपयोग सम्बन्धी प्रशिक्षण दिने गरेकी छन् । उनका अनुसार आमालाई बच्चा हुर्काउने र बाबुलाई चाहिँ घरमा सबैकुरा पुर्याउने जिम्मेवारीको भार हुन्छ । यसले नयाँ अभिभावकमा डिप्रेसन र तनावका घटना बढाइरहेको छ । यस्तोमा उनको संगठनले विभिन्न कम्पनीहरुलाई सुत्केरी अवधिभर एकवर्षसम्म आफ्ना कर्मचारीको मानसिक स्वास्थ्य परीक्षण गराइ बाबुआमा दुवैलाई सक्दो सहयोग प्रदान गर्न पहल गरिरहेको छ । यसले अष्ट्रेलिया, बेलायत र हङकङमा अभिभावकहरुलाई करिअर, परिवार र स्वास्थ्यबीच सन्तुलन राख्न ट्रेनिङ दिइरहेको छ ।
यसरी परिवारमा बच्चाको आगमनपछि धेरै पुरुषहरुमा बढी काम गर्नुपर्ने सोच आउने गरेको र घरमा पनि उत्तिकै संघर्ष गर्नुपरेतापनि उनीहरु कार्यस्थलमा मद्दत माँग्न हिचकिचाउने गरेका छन् ।
यस्तोमा पाँच वर्षीया छोराका पिता एलेक्स लुगानले ‘बेटर ड्याड्स’ नामक नयाँ वेबसाइट बनाएका हुन् । यसले पहिले डिभोर्सबाट गुज्रिरहेका पुरुषहरुको समर्थनमा काम गथ्र्यो भने अहिले चाहिँ पारिवारिक र कामका विषयमा पनि पुरुषहरुलाई सहायता गर्छ ।
लागुनाका अनुसार पुरुषहरु घरको चिन्ता लिँदै काम गरिरहेका हुन्छन् र जति बढी काम भएपनि नाई भन्न सक्दैनन् । यस्तोमा म्यानेजरहरुले नयाँ पितालाई उनीहरुले कस्तो महसुस गरिरहेका छन् भनेर सोध्दै गर्नुपर्ने र कुनैपनि किसिमको समर्थन प्रदान गर्न तयार रहनुपर्ने मार्क विलियम्स बताउँछन् । उनले पनि आफ्ना बच्चाको जन्मपछि डिप्रेसन र एन्जाइटीकै कारण काम छाड्नु परेको थियो । यस्तोमा उनले फादर्स रिचिङ आउट भन्ने अभियान र च्यारिटी स्थापना गरेका हाुन् ।
यसरी विश्वभर काम गर्ने आमाहरुलाई सुत्केरी बिदा हुन्छ भने पिताका लागि पनि विशेष बिदा छुट्याइएको छ ।
यसका लागि कोरिया र जापानमा सबैभन्दा धेरै, ५२ दिनसम्मको बिदा दिइन्छ तरपनि उनीहरु कामबाट निकालिने डरले सबै बिदाको उपयोग गर्दैनन् । अझ जापानमा त देशभरका केबल ५ प्रतिशत पिताहरुले मात्र यो सुविधाको फाइदा उठाउने गरेका छन् ।
अर्कोतर्फ क्यानडा, अमेरिका, न्युजिल्यान्ड लगायतका देशहरुमा भने यस किसिमको कुनै व्यवस्था छैन जसकारण पनि नयाँ पिताहारु मानसिक समस्याको शिकार हुने सम्भावना अधिक रहेको बताइएको छ ।