लेखापढी तथा घरजग्गा व्यवसाय तीन दिनभित्र दर्ता गर्न निर्देशन
वीरगंज संजाल
Sep 16, 2019, 11:06 pm
१४४४७
भक्तपुर : भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित लेखापढी तथा घरजग्गा व्यवसायीलाई कडाइ गरेको छ ।आज नगरपालिकाको अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको लेखापढी व्यवसाय तथा घरजग्गा कारोवारको अनुगमनमा अधिकांशले दर्ता नगरी व्यवसाय सञ्चालन गरेको पाइएपछि कडाइ गरिएको हो ।
नगरपालिकाले १४ फर्ममा गरेको अनुगमनमा १३ फर्म दर्ता नै नभएका र एउटा मात्र फर्म दर्ता भएको पाइएको अनुगमन समितिका निरीक्षक रामकृष्ण प्रजापतिले बताए।
अनुगमनमा दर्ता नभएका फर्मलाई तीन दिनभित्र दर्ता गर्न, सेवा शुल्कको सुची राख्न, शुल्कको लेनदेन पान नम्बर सहितको रसिदबाट गर्न, लेखापढीलगायत अनुमतिको प्रमाणपत्र फर्ममा देखिने गरी राख्न निर्देशन दिइएको निरीक्षक प्रजापतिले बताए।
भिमसेन लेखापढी एउटा मात्र दर्ता गरेको भेटिएको बताउदै उहाँले उक्त फर्मलाई पनि सेवा शुल्कको सुची राख्न, शुल्कको लेनदेन पान नम्बर सहितको रसिदबाट गर्न, लेखापढीलगायत अनुमतिको प्रमाण पत्र फर्ममा देखिने गरी राख्न निर्देशन दिइएको छ । – रासस