बनारस हिन्दु विश्वविद्यालयका छात्राहरुको रातभर प्रदर्शन
वीरगंज संजाल
२९ भाद्र २०७६, आईतवार ०९:४०
३९०७
बनारस । बनारस हिन्दु विश्वविद्यालय (बीएचयु)मा यौन उत्पीडनको मामिलामा कारवाही अघि बढाउन माग गर्दै त्यहाँका छात्राहरु धर्नामा बसेका छन् । छात्राहरुले बीएचयुका जन्तुविज्ञानका प्राध्यापकको विरुद्धमा यौन शोषणको आरोप लगाएका हुन् । छात्राहरुले प्राध्यापकलाई विश्वविद्यालयबाट निकाल्न माग गरेका छन् । यसका लागि छात्राहरुले शनिबार साँझ ७ बजेदेखि बीएचयुको गेटमा विरोध प्रदर्शन गरेका थिए । बीएचयुको प्रशासनले भने यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन । यो मामिला अक्टोबर २०१८ को घटनासँग सम्बन्धित भएको बताइएको छ ।
एक शैक्षिक भ्रमणमा गएको बेलामा ती प्राध्यापकले छेडखानी गरेको र अश्लील टिप्पणी गरेको छात्राहरुको आरोप छ । त्यसबारेमा ती प्राध्यापकले कुनै प्रतिक्रिया जनाएका छैनन् । बीएचयुको छात्र परिषद्का महासचिव रहिसकेका छात्र विकास सिंहले बीबीसीलाई बताएअनुसार ३६ जना छात्राले शैक्षिक भ्रमणमा प्राध्यापकले दुर्व्यवहार गरेको आरोप त्यतिबेला लगाएका थिए ।
उनीहरुले उपकुलपतिलाई पत्र लेखेर उजुरी पनि गरे । यो मामिला त्यसपछि विश्वविद्यालयको ११ सदस्यीय आन्तरिक उजुरी समितिमा गएको थियो । समितिले प्राध्यापकको गल्ती ठहर गरेको थियो । सो मामिलापछि बीएचयुको कार्यकारी परिषदमा जाँदा प्राध्यापकलाई आइन्दा यस्तो नगर्न चेतावनी मात्रै दिइएको थियो ।
उजुरीपछि निलम्बन गरिएका प्राध्यापकलाई अहिले बहाल गरिएको छ । छात्राहरुले अहिले उनलाई विश्वविद्यालयबाट निकाल्न माग गरेका हुन् । दुर्व्यवहारमा परेका छात्राहरु भने पढाइ सकेर त्यहाँबाट बाहिरिइ सकेका छन् । दुर्व्यवहार भएको बेलामा उनीहरु विश्वविद्यालयमा पढाइको अन्तिम वर्षमा रहेका थिए ।
उजुरीकर्ता छात्राहरु त्यहाँबाट बाहिरिइसकेपछि विश्वविद्यालयले प्राध्यापकको निलम्बन फुकुवा गरेको सिंहले बताएका छन् । छात्राहरु रातभरी धर्नामा बसेको र यो क्रम माग पूरा नहुन्जेल जारी रहने बताइएको छ । (बीबीसी)