बीरगंजको श्रीराम सिनेमा हलका संचालक शम्भुशरण र ओमप्रकाश जेल चलान
वीरगंज संजाल
२७ भाद्र २०७६, शुक्रबार १०:१७
१२०६३
वीरगन्ज । मदिरा उद्योगले प्रयोग गर्ने अन्तःशुल्कको स्टिकर हिनामिना गरेर दोषी ठहर भई माग गरेको धरौटी बुझाउन नसक्दा दुईजना उद्योगी कारागार चलान भएका छन् ।
उदयपुर डिष्टिलरी प्रालिका संचालक ओमप्रकाश कलवार र जयश्री धौलागिरी डिष्टिलरीका संचालक शम्भुशरण कलवारले कर छलीको अभियोगमा ३१ करोड ६५ लाख ९ हजार १३२ रुपैया धरौटी बुझाउन नसकी बिहिबार जेल चलान भएका हुन् ।
एकै परिवारका दाजुभाइले पर्साको रामगढवामा संचालन गरेको उदयपुर डिष्टिलरी र पर्साकै पोखरिया नगरपालिका ३ बसन्तपुरमा संचालित जयश्री धौलागिरी डिष्टिलरी प्रालिले आन्तरिक राजश्व कार्यालय पर्साबाट लिएको अन्तशुल्क स्टिकर हिनामिना गरेको अभियोगमा धरौटी माग गरिएको थियो । तर, राज्यलाई ठगी गरी धरौटी रकम बुझाउन नसकेपछि दुवै उद्योगका संचालकलाई जेल चालान गरिएको आन्तरिक राजश्व कार्यालय पर्साका प्रमुख गोपीकृष्ण कोइरालाले बताए ।
दुवै मदिरा उत्पादक कम्पनीले आर्थिक वर्ष २०७१र०७२ देखि २०७५र०७६ सम्म अन्तशुल्क स्टिकर हिनामिना गरी राज्यलाई कर छली गरेको अनुसन्धानमा देखिएको आन्तरिक राजश्व कार्यालय पर्साले जनाएको छ । दुवै उद्योगका संचालकले आन्तरिक राजश्व कार्यालय पर्साबाट खरिद गरी लगेका ४४ लाख १५ हजार ३५७ थान अन्तशुल्क स्टिकर हिनामिना गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको आन्तरिक राजश्व कार्यालयका प्रमुख कोइरालाले बतँए ।
ओमप्रकाश कलवारको नाममा रहेको उदयपुर डिष्टिलरीले ०७१र०७२ देखि ०७५र०७६ सम्ममा ३६ लाख ६९ हजार ७४२ थान अन्तशुल्क स्टिकर हिनामिना गरेको छ भने शम्भुशरण प्रसाद कलवारको नाममा रहेको जयश्री धौलागिरी डिष्टिलरीले ७ लाख ४५ हजार ६ सय १५ थान अन्तशुल्क स्टिकर हिनामिना गरेको प्रारम्भिक अनुसन्धानमा भेटिएको आन्तरिक राजश्व कार्यालय पर्साले जनाएको छ ।
दुवै उद्योगले उत्पादनमा खपत भएको प्रमाण पेश गरेको भएपनि कार्यालयले स्थगलत रुपमा गरिएको भौतिक परिक्षण गणनामा मौज्दात पनि नदेखिएकोले आन्तरिक राजस्व कार्यालय वीरगन्जका प्रमुख गोपिकृष्ण कोईरालाको आदेशमा उदयपुर डिष्टिलरीका संचालक ओमप्रकाश कलवारलाई २६ करोड १६ लाख ७९ हजार ८ सय ४७ र जयश्री धौलागिरी डिष्टिलरीका संचालक शम्भुशरण प्रसाद कलवारलाई ५ करोड ४८ लाख २९ हजार २ सय ८५ रुपैंया गरी कुल ३१ करोड ६५ लाख ९ हजार १३२ रुपैयाँ धरौटी माग गरिएकोमा उक्त धरौटी बुझाउन नसकेपछि दुवैजनालाई कारागार चलान गरिएको आन्तरिक राजस्व कार्यालय वीरगन्जका प्रमुख कोईराला र सो मुद्दाका अनुसन्धान अधिकृत उदय केसीले बताए ।
आन्तरिक राजस्व कार्यालय वीरगन्जमा यति धेरै धरौटी माग गरी बुझाउन नसकेकालाई कारागार चलान गरेको यो पहिलो घटना हो । कार्यालय प्रमुख कोईरालाले सक्कली अन्तःशुल्क नै हिनामिना गरेर यति धेरै विगो धरौटी स्वरुप बुझाउनु पर्ने घटना सम्भवतः वीरगन्जको पहिलो हो । यसअघि ५४ करोड हिनामिनामा नक्कली स्टिकरमा धेरैजना कारवाहीमा परेका थिए । कारागार चलान गरिएका कलवारद्वय बीरगंजको श्रीराम चलचित्र मन्दीरका संचालक पनि हुन ।