आउँदो कात्तिक मसान्तभित्र घर निर्माण सुरु नगरे अनुदान नपाइने
वीरगंज संजाल
२६ भाद्र २०७६, बिहीबार १७:४२
६६४१
भक्तपुर : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पको लाभग्राही सूचीमा परेको भूकम्पपीडितले आउँदो कात्तिक मसान्तभित्र घर निर्माणकार्य सुरु नगरे अनुदान नदिने बताएका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ, भक्तपुरले आज (बिहीबार) आयोजना गरेको निजी आवास पुनर्निर्माण कार्यक्रम सम्बन्धी गोष्ठीमा उनले कात्तिक मसान्तभित्र घरको जग पनि नहाल्ने लाभग्राहीले अनुदानको रकम नपाउने दोहो-याए ।
तेस्रो किस्ता आगामी माघ मसान्तसम्म लिइसक्नुपर्ने गरी घर निर्माण सुरु गर्न आग्रह गर्दै उनले गाउँ–गाउँमा रहेका इञ्जिनियरलाई गाउँ नछाड्न निर्देशन दिए । उनले दैनिक काममा नजाने इञ्जिनियरलाई हाजिर नगराउन वडादेखि नगरपालिकासम्मका प्रमुखलाई आग्रह गरे । (रासस)