काठमाडौं : हरेक वर्ष मनाइँदै आएको ईन्द्रजात्रा यस वर्ष भने नेपाल भ्रमण वर्ष २०२० को तयारीका रुपमा पनि मनाइने भएको छ । यसका लागि ईन्द्रजात्रा अवलोकन गर्न गर्न भनी ६ देशका नगर प्रमुखसहितको ४८ जनाको विदेशी पाहुनाको टोली बिहीबार काठमाडौं आउँदै छ ।
भारत, चीन, भूटान, बंगलादेश, जापान र अमेरिकाबाट पाँच जना नगरप्रमुखसहित ४८ जना विदेशी प्रतिनिधि ईन्द्रजात्रामा सहभागी हुन आउने भएका हुन् । यसका लागि काठमाडौं महानगरपालिकाले सबै तयरी गरिसकेको नगर प्रमुख विद्यासुन्दर शाक्यले बुधबार आयोजित पत्रकार भेटघाटमा बताएका थिए ।
उनका अनुसार भ्रमण वर्षको तयारी समयाभावका कारणले धेरै कार्यक्रमहरु दिएर दिन नसके पनि नेपालमा हरेक दिन सांस्कृतिक कार्यक्रम वा पर्व पर्ने भएकाले यिनै सांस्कृतिक पर्वहरुलाई भ्रमण वर्षको तयारीका रुपमा अघि बढाउन सकिने बताएका छन् । ती पर्वहरुमा सबैभन्दा ठूलो र महत्वपूर्ण पर्व काठमाडौंका लागि ईन्द्रजात्रा नै हो । यसले नेपाली संस्कृतिलाई विश्वमा चिनाउन मद्दत पनि पुग्ने उनको दाबी रहेको छ ।
जानकारी अनुसार ईन्द्रजात्रामा सहभागी हुन आउने विदेशी पाहुनालाई काठमाडौंपछि ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकामा पनि घुमाउने तयारी गरिएको छ । पाहुनाको नेपाल बसाइको खर्च काठमाडौं महानगरपालिकाले गर्ने भएको छ ।
सहभागी पाहुनाहरुमा चीनको ल्हासाका प्रमुख गुहेओ गुहेओ, बङ्गलादेशको ढाका साउथ सिटी कर्पोरेसनका प्रमुख मोहम्मद शहीद खोकन, भुटानको थिम्पु नगरका प्रमुख किन्ले दोर्जे, भारत इष्ट दिल्ली म्युनिसिपल कर्पोरेसनका प्रमुख अञ्जु कमलकान्त र नर्थ दिल्ली म्युनिसिपलबाट प्रमुख सरदार अभतार सिंहको नेतृत्वमा टोली आउने भएको छ ।
यसैगरी चीनबाट सियान, छेन्दु, सेञ्जेन, नाञ्जिन र लाञ्चाउ नगर, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकवर्ग र बोल्डर नगरबाट उच्च अधिकारीको नेतृत्वमा टोली आउने छ ।
विदेशी टोलीको अवलोकन, अध्ययन तथा सहभागिताको तयारीका लागि हनुमानढोका क्षेत्र, कुमारी रथयात्रा, राष्ट्रप्रमुखको उपस्थितिमा हुने रथयात्रा, चन्द्रागिरि, छाउनीको प्राकृतिक सङ्ग्रहालय, स्वयम्भूको अवलोकन, भक्तपुर सहर, पाटन दरबार क्षेत्र आदिलाई तयारी हालतमा राखिने बताइएको छ ।