पशुपति आरतीमा राष्ट्रिय गान बन्द गर्न कांग्रेसको माग
वीरगंज संजाल
२३ भाद्र २०७६, सोमबार १९:०६
२३६३
काठमाडौं । मुख्य विपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले पशुपतिनाथ मन्दिरमा आरती सुरु गर्नुभन्दा अगाडि राष्ट्रिय गान बजाउने निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन् । प्रतिनिधसभा बैठकमा आइतबार विशेष समय लिएर कांग्रेस सांसद प्रधानले जहाँ पायो त्यहीँ राष्ट्रिय गान बजाउँदा राष्ट्रिय गानकै अपमान हुने बताए ।
‘पशुपतिनाथमा हरेक साँझ हुने आरतीअघि राष्ट्रिय गान गाउँदा दाहसंस्कार गर्ने कि उभिने ?’ प्रश्नगर्दै प्रधानले भने, ‘यसरी ठाउँ–कुठाउँ जताततै राष्ट्रिय गान गाउँदा इज्जत होइन बेइज्जत हुन्छ । यो कार्य तत्काल फिर्ता हुनुपर्छ ।’ राष्ट्रिय गानप्रति अनादर पैदा हुने विवादास्पद काम तत्काल रोक्न प्रधानले माग गरे । ‘पशुपतिनाथ दर्शनका लागि विश्वभरी छरिएर रहेका हिन्दू धर्मावलम्बीहरू पुग्ने गरेका छन्, उनीहरूलाई नेपालको राष्ट्रिय गानबारे थाहा हुँदैन,’ प्रधानले प्रश्न गरे, ‘राष्ट्रिय गान बज्दा उनीहरू उभिएनन् भने के हुन्छ ?’
उनले पशुपति मन्दिरमा झै अन्य धार्मिक स्थलमा राष्ट्रियगान अनिवार्य गर्ने कि नगर्ने भन्ने प्रश्न पनि उठाए । उनले भने, ‘प्रत्येक शुक्रबार नेपालको मुस्लिम समुदायले घण्टाघर नजिकको मस्जिदमा नमाज पढ्छन् । नमाज पढ्नुअघि पनि राष्ट्रिय गान बजाउन भन्ने कि नभन्ने ?’
पशुपति आर्यघाटमा आरती मात्रै नभई दाहसंस्कार गर्ने मलामी रकिरियापुत्रीहरू पनि हुने भएकाले दुःखको समयमा रहेका र दाहसंस्कारमा रहेकाहरूले राष्ट्रिय गान बज्दा सम्मानार्थ उभिन नसक्ने प्रधानको भनाइ थियो । उनले प्रधानले सरकारको निर्णयले राष्ट्रिय गानकै अनादर हुने धारणा प्रकट गरे । उनले प्रश्न गरे, ‘यो सरकार बारम्बार किन विवादित कुरा ल्याउँछ ?’ उनले सरकारको शाख गिरेकोमा आफूलाई चिन्ता लागेको बताए । उनले भने, ‘यस्तै–यस्तै कारणले गणतन्त्रमाथि नेपाली जनताको अनास्था प्रकट भएको छ ।’
सरकारले असोज ३ गते संविधान दिवसदेखि सिनेमा हलमा पनि चललिचत्र सुरु हुनुअघि पनि राष्ट्रिय गान बजाउनुपर्ने र सम्मान स्वरूप सबै दर्शकले उठ्नुपर्ने निर्देशन जारी गरेको छ । सिनेमा घरमा सिनेमा सुरु हुनुअघि र पशुपतिनाथ मन्दिरको आर्यघाटमा हरेक साँझ हुने आरतीअघि राष्ट्रिय गान बजाउनै पर्ने सरकारको निर्देशन छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको निर्देशनमा पशुपतिमा आरतीअघि राष्ट्रिय गान बज्न थालेको छ । निर्देशन अनुसार सिनेमा हलमा अजोज ३ गते सुरु हुने छ । सरकारको यो निर्देशनको चौतर्फी विरोध भइरहेको छ । संस्कृतिविद्हरूले आश्चर्य प्रकट गरेका छन् । उक्त निर्देशनको संसद्, सामाजिक सञ्जाल लगायतमा आलोचना भइरहे पनि सरकारले कुनै प्रतिक्रिया जनाएको छैन । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता–कार्यकर्ताले निर्देशनको समर्थन गरेका छन् ।