काठमाडौं : सांसद जुली कुमारी महतोले एसिड आक्रमण जस्ता जघन्य अपराध गर्नेलाई कडा कारबाहीको माग गरेकी छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकको सुरुमा विशेष समय दिएर बोल्दै सांसद महतोले वीरगन्जमा शुक्रवार हनुमान माध्यमिक विद्यालयमा अध्ययनरत मुस्कान खातुनमाथि एसिड आक्रमणमा संलग्नलाई कडा कार्वाही गरी पीडित परिवारलाई राहत दिन माग गरिन् ।
प्रदेश २ मा यसभन्दा अघि पनि धेरै महिला एसिड आक्रमणको सिकार भएकाले यो विषयमा गम्भीर बन्नुपर्ने बताइन् । प्रदेश २ सरकारले बेटी पढाऊ बेटी बचाउ अभियान ल्याएको भन्दै बेटी बचाउनै मुस्किल परेको बताइन् ।
एसिड प्रहार गर्ने मुख्य अभियुक्त वीरगन्ज २ छपकैयाका सम्साद मियाँ र माजिद आलमलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । मुस्कानको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । २०७६ सालयता ५ महिनामा एसिड आक्रमणका दुई घटना सार्वजनिक भएका छन् । दुवै घटना महिलामाथि नै भएका हुन् ।
गत जेठ १ गते बुधवार राती काठमाडौँको कालोपुलमा २२ वर्षीया युवतीमाथि आफ्नै श्रीमानले एसिड प्रहार गरेका थिए । त्यसको चार महिनापछि गत भदौ २० गते शुक्रवार बिहान वीरगन्जकी मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो ।