एजेन्सी । चीनले निर्माण गरेको नयाँ हन्टर ड्रोनले ‘स्पाइडर–म्यान’ जसरी जालि फालेर हमला गर्न सक्ने बताइएको छ । ड्रोनका साथै अन्य साना हवाइ उपकरणलाई समेत यस आधुनिक ड्रोनले १६ वर्ग मिटरको जालि फ्याँकेर निस्क्रिय गर्न सक्ने चीनको दाबी छ । यसलाई ड्रोनहरुको ‘स्पाइडर–म्यान’ पनि भनिएको छ । त्यसरी जालीमा पर्ने जुनसुकै ड्रोनको तत्कालै सबै पावर बन्द हुने र जमिनमा खस्ने चिनियाँ सैन्य रिपोर्टमा उल्लेख गरिएको छ ।
‘चाइना एरोस्पेस साइन्स एण्ड इन्डस्ट्री कोर्पोरेसन’ ले निर्माण गरेको उक्त ड्रोनले एक्लै काम गर्नुका साथै चिनियाँ सुरक्षा प्रणालीसँग पनि सहकार्य गरि साना र तल उड्ने लक्ष्यहरुमा प्रहार गर्न सक्ने बताइएको छ । त्यस ‘हेक्जाकप्टर’ ड्रोनलाई निगरानी, अनुसन्धान र जासुसीका लागि प्रयोग गर्न सकिने बताइएको छ ।
पछिल्लो हप्तामा यो चीनले घोषणा गरेको दोस्रो आधुनिक ड्रोन हो । यसअघि गत अगस्टमा रुसको हवाइ प्रदर्शनमा पनि चीनले अन्य उपकरणको नजरबाट बच्न सक्ने क्षमतायुक्त ‘एलजे–आइ टार्गेट ड्रोन’ प्रदर्शन गरेको थियो । यसले भने चिनियाँ हवाइ फोर्सलाई प्यासिफिकमा स्थापित अमेरिकी एफ–३५ लडाकू विमानबाट सम्भावित हमलाका लागि तयार रहन मद्दत गर्ने बताइएको छ ।
ग्लोबल टाइम्सको रिपोर्ट अनुसार सो टार्गेट ड्रोन लक्षित वर्गसँग वास्तविक युद्धको परिस्थितिको सामना गर्न सक्ने किसिमले डिजाइन गरिएको छ । सो हवाइ प्रदर्शनमा देखाइएको एक भिडियोमा पनि चिनियाँ बम्बरले थुप्रै एलजे–आइ ड्रोन छाडेको देखिएको थियो जसले पछि पीएलए नौसेना विनाशकमाथि हमला सुरु गरेको हो । तर अन्य उपकरणको नजरबाट बच्न सक्ने भएतापनि उक्त विनाशकले ती ड्रोनहरु पत्ता लगाइ माथिबाट उड्दै आइरहेकामाथि मिसाइल लन्च गरि नष्ट गरेको थियो । यता तलपट्टी उडिरहेकाहरुलाई चाहिँ ‘क्लोज–इन गन’ प्रयोग गरि नजिकबाट गोली चलाएर समुद्रमा खसालेको हो ।
चीनलाई ड्रोन प्रविधिमा विश्वकै लिडर मानिन्छ । विशेषगरी साना र कम मूल्य पर्ने ड्रोनहरुको निर्माणमा चीन विश्वमै सबैभन्दा अगाडि रहेको केही समय अघि अमेरिकी रक्षा विभाग, पेन्टागनले समेत स्वीकार गरेको छ । सीएनएन