काठमाडौं । प्वाइन्ट अफ सेल्स (पीओएस) मार्फत भुक्तानी गर्दा अब सेवा शुल्क तिर्न नपर्ने भएको छ ।
हाेटल रेस्टुरेन्ट, सपिङ्ग सेन्टरलगायतले पस मेसिनबाट हुने भुक्तानीमा सेवा शुल्क लिँदै आएकोमा राष्ट्र बैंकले लिन नपाउने व्यवस्था गरेकाे हाे ।
राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले ग्राहकसँग खर्च भएको रकममा आफूखुसी केही प्रतिशत थप शुल्क लिने गरेकाले यसमा कडाइ गरेको जानकारी दिए ।
‘केही प्रतिशत अतिरिक्त रकम लिने गरिएको थियो, अब खर्च भएको रकमभन्दा एक रुपैयाँ बढी तिर्नु पर्दैन’ मिश्रले भने ।
राष्ट्र बैंकले यसअघि नै एटीएमबाट रकम निकाल्न सक्ने विद्यमान व्यवस्थामा समेत कडाइ गरिसकेकाे छ । एटीएम ह्याकिङ प्रकरणले थप सुरक्षा चुनाैती थपेको भन्दै राष्ट्र बैंकले एक दिनमा ६० हजार र एकपटकमा २० हजार रुपैयाँ मात्रै निकाल्न सक्ने व्यवस्था गरेको हाे । यसअघि एटीएमबाट एक दिनमा १ लाख र एक पटकमा २५ हजार रुपैयाँसम्म झिक्न पाइन्थ्याे । याे व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले बिहीबार नै परिपत्र गरिसकेको छ।